• २ असार २०८१, आइतबार

अस्पताल भवन बन्ने प्रतीक्षामा मनाङी नागरिक

blog

मनाङमा निर्माणाधीन जिल्ला अस्पताल । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, जेठ १० गते । 
२०४६ साल फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल मनाङ यति बेला घर न घाटको अवस्थामा पुगेको छ ।

दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालन गरिएको अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि १४ करोड लागतमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।

अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहे पनि प्रदेश सरकारले चार वर्षको बिचमा तीन पटक म्याद थप गरे पनि निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गमका बिरामीले सास्ती खेप्नुपरेको छ ।

सामान्य उपचारका लागि पनि हेलिकोप्टरको सहारा लिनुपर्ने वा जिल्लाबाहिरका सुविधासम्पन्न अस्पताल धाउनुपर्ने बाध्यताबाट मनाङी जनताले मुक्ति पाएका छैनन् । ओम बुद्ध/बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो । ठेकेदार घिमिरेले रंगरोगन तथा टाइल बिछ्याउने कार्य भइरहेको जानकारी दिनुभएको छ ।

२०७५ सालदेखि गण्डकी प्रदेशअन्तर्गत रही सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेश पुगी आफ्ना समस्याबारे जानकारी गराएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँले प्रदेश स्वास्थ्य सचिवबाट दुर्गममा जनसङ्ख्या कम हुने भएकाले जिल्लामा एउटै मात्र सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र जसरी भए पनि निर्माण सम्पन्न गरी नयाँ भवनबाट सेवा सुरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष घलेले भौतिक रूपमा कार्यप्रगति मूल्याङ्कन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । घलेकै पालिकामा बन्न लागेको जिल्ला अस्पतालको नयाँ भवनमा उहाँ सदस्य हुनुहुन्छ भने उहाँको श्रीमती सुनिता घले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ।

यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भारती मेहता मुख्य ठेकेदार र स्थानीय (पिटी) ठेकेदारको बिचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताउनुभयो । अस्पतालको तर्फबाट पनि आफूहरूले धेरै नै पहल गरेको उहाँको दाबी छ । डा. भारती पनि असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न भइसक्नेमा आशावादी रहेको बताउनुहुन्छ ।

उहाँले अस्पतालको नयाँ भवन मात्र नभई अन्य कुराहरू पनि नहुँदा समस्यै समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भवन मात्रै भएर के गर्नु ? दुर्गममा दरबन्दीअनुसारको दक्ष जनशक्ति पनि हुनुपर्‍यो नि !’’ सरकारले मनाङ जिल्ला अस्पतालका लागि १८ जनाको स्थायी दरबन्दी तोकेको छ । तर हाल सो अस्पतालमा पाँच जना मात्र कार्यरत छन् । १३ जनाको दरबन्दी खाली छ । सरकारले हालसम्म सो दरबन्दी पूरा गर्न सकेको छैन ।

डा. भारतीका अनुसार भएका दरबन्दीमा दक्ष जनशक्ति छैन । दुई सिफ्ट गरेर काम गराउने वातावरण पनि छैन । दुर्गममा कर्मचारी आउनै मान्दैनन् । उहाँले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको गुनासो गर्नुभयो । ‘‘अन्य अस्पतालको वार्षिक आम्दानी पाँच करोडभन्दा बढी हुन्छ । हाम्रोमा २० रुपियाँको टिकटले मुस्किलले वर्षमा दुई लाख उठ्छ, कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने ?’’ डा. भारतीले प्रतिप्रश्न गर्नुभयो ।

डा. भारतीले भन्नुभयो, ‘‘जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनुपरेको छ ।’’ उहाँले प्रदेश सरकारसँग सशुल्क फार्मेसीका लागि माग गरेको बताउनुभयो ।

साहसिक पदयात्राको प्रवेशद्वार चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्युदर घटाउनमा पनि अस्पतालको निकै ठुलो भूमिका छ । तर नयाँ भवन दक्ष जनशक्तिका कारण निर्माणाधीन जिल्ला अस्पताल आफैँ थला परेर घर न घाटको भएको छ ।