काठमाडौँ, असार १४ गते। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) रक्तबीज झैँ भएको टिप्पणी गर्नुभएको छ।
शनिबार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छे एमालेमा जन्मिने बताउनुभयो। एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिनुभयो।
एमालेले जबज जपेर बस्ने नभई कार्यान्वयन गरिरहेको बताउनुभयो। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधा लिएर पार्टी फुटाउन लागेको बताउनुभयो। ‘‘पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरूलाई लाज हुनुपर्दैन ?’’, उहाँको प्रश्न छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेकपा (एमाले)ले सबै गलत प्रवृत्तिलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ। त्यो सामर्थ्र्य नेकपा एमालेमा छ। यो रक्तबीज जस्तो छ। रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीज जन्मिन्थे। यो त्यस्तै हो। यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन।"
प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताउनुभयो।
सञ्चारमाध्यममा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरूले विभिन्न आस र अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आस नगरे हुन्छ । नेकपा (एमाले) एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आस पनि कस्ता कस्ता गरेका होलान् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन ।’’ प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।