• २ असार २०८१, आइतबार

मापदण्ड विपरीत तीन गुणा बढी खोला उत्खनन्

blog

बकैया र पासाहा खोलाबाट बालुवा, ढुङ्गा लिकालिँदै । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशंङ्कर मिश्रा
बारा, जेठ १० गते । 
मापदण्ड विपरीत तीन गुणाभन्दा बढी खोला उत्खनन् हुँदा सरोकारवाला निकाय मौन रहेका छन् । ठेकेदारले मनोपरी खोला दोहन गर्दा पनि सरोकारवाला सबै निकाय मौन देखिएको हो ।

जिल्लाको १६ वटा पालिकाहरूमध्ये जितपुरसिमरा उपमहानगरपालिका, निजगढ र कोल्हवी नगरपालिकाले दुधौरा, बालगंगा, पसाहा, बकैया, भक्तलाल, शक्ति खोला उत्खनन् गर्न ठेक्का लगाउँदै आएका छन् ।

यसरी अवैध ठेक्का लगाउने कार्यप्रति मौन भएर आफ्नो भागको कमिसन लिन देखावटी अनुगमन, निरीक्षणको कार्य जिल्ला समन्वय समिति, सुरक्षा निकाय र डिभिजन वन कार्यालयले गर्दै आएको छ ।

चालु–आर्थिक वर्षका लागि जितपुरसिमरा उपमहानगरले १० करोड ५६ लाख रुपियाँमा दुधौरा, बालगंगा, पसाहा खोलाबाट ८२ लाख ४० हजार ३७६ घनफिट उत्खनन् गर्न ठेक्का लगाएको छ ।

यस्तै, निजगढ नगरपालिकाले आठ करोड २८ लाख २९ हजार रुपियाँमा बकैया, भक्तलाल र शक्ति खोलाबाट ७० लाख ६ हजार ६६८ घनफिट उत्खनन् गर्न ठेक्का लगायतका तथा कोल्हवी नगरपालिकाले दुई करोड ९१ लाख रुपियाँमा बकैया खोलाको तल्लो भागबाट २८ लाख घनफिट उत्खनन् गर्न ठेक्का लगाएको छ ।

यसरी तीन वटा पालिकाहरूले वातावरणीय प्रभाव मूल्याङ्कनसहितको प्रतिवेदनमा तोकिएको मापदण्ड विपरीत तीन गुणा बढी उत्खनन् गर्न ठेक्का लगाइएको छ । यसरी अवैध कार्य गर्ने स्थानीय पालिकाहरूले वातावरणमा प्रभाव पार्नेलाई रोक्नुको साट्टो झन् प्रोत्साहन गरी रहेका छन् ।

अहिले विश्वमा मौसम परिवर्तनलगायतका समस्याबाट छुटकारा पाउन सबै वर्ग चिन्तनका विषयमा लागेर त्यसको निराकरण गर्ने तर्फ लागेपनि पालिकाहरूले झन् समस्या थपिँदै आएको जितपुरसिमरा उपमहानगरका–१६ का वडाध्यक्ष हरिदेव खरेलले बताउनुभयो ।

यसरी अवैध उत्खननका कारण चुरेक्षेत्र मासिनु र वर्षौँदेखि तराईका जिल्लाहरूमा पानीको सतह कम भएपछि खानेपानी लगायतका समस्याबाट खेप्दै आएको उहाँले भन्नुभयो ।

सम्झौता अनुसार खोला उत्खनन् गर्न ३ फिटभन्दा गहिराइमा खन्न नपाउने व्यवस्था छ । तर खोलामा २५ फिट गहिराइसम्म उत्खनन् भइरहेको छ, पालिकाले ठेक्का लगाएको परिमाण एक/डेढ महिनामै खोलाबाट निकालेर ठाउँ-ठाउँमा स्टक गरी सकेको देखिन्छ, अहिले पनि खोलामा उत्खनन् भइरहेको छ ।

जिल्लामा ५० भन्दा बढी बालुवा प्रशोधन केन्द्रसहितका क्रसर उद्योगहरू सञ्चालित रहेपनि त्यसको यकिन विवरण जिल्ला समन्वय समिति, प्रमुख प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा कहीँ कतै रहेको छैन ।

‘‘बिना यकिनको खाली प्रक्रिया पुर्‍याउन कागजमै अनुगमन निरीक्षण गर्ने निकायसँग, यस विषयमा जानकारी लिन खोज्दा प्रहरी प्रशासनसँग होला हामीसँग छैन ।’’ जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र साहले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजस्व सङ्कलनको नाममा स्थानीय तहले मनोमानी गर्दै आएको गुनासाहरू आएपछि मापदण्ड विपरीत उत्खनन् नगर्न पालिकाहरूलाई पत्राचार गरेपनि सो पत्रको कुनै जवाफ नदिएको बताउनुभयो ।