विजयकुमार साह
ढल्केबर, असार १४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वृक्षरोपण एक मात्र विकल्प भएको बताउनुभएको छ।शनिबार राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गियास्थित बुद्ध कबुलिय वन क्षेत्रभित्र खाली रहेको १० हेक्टर जमिनमा वृक्षरोपण कार्यको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनले मधेश प्रदेशमा विशेष गरी खेतीयोग्य जमिनमा नकारात्मक असर, भूमिगत जलको ह्रास, तापक्रम वृद्धिलगायतका समस्याहरू निम्त्याएको उल्लेख गर्नुहँदै वृक्षरोपण गरेर हरियाली वृद्धि गर्न प्रत्येक नागरिकको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “वृक्षरोपण अब उत्सव नभएर दायित्व हो।जलवायु परिवर्तनको असरबाट देशको आर्थिक, सामाजिक र समग्र क्षेत्रमा प्रभाव परेको छ।यसको समाधानका लागि वृक्षरोपण र त्यसको संरक्षण नै अहिलेको मुल उपाय हो ।” वृक्षरोपणले भूमिगत जलस्रोत पुनःभरण, जमिनको कटान नियन्त्रण, तापक्रम नियन्त्रण र जैविक विविधताको संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ थियो।अब बिरुवा रोपेर मात्र होइन जोगाउने र हुर्काउने संस्कारको विकास गर्न पनि जरुरी रहेको उहाँले जानकारी दिनुभयो।
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको रूपमा देखिएको बताउनुभयो।उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले पृथ्वीको पर्यावरण चक्रलाई नै गम्भीर क्षति पु¥याइरहेको छ।नेपालले पनि यसको मूल्य सामाजिक, आर्थिक र पर्यावरणीय क्षेत्रमा चुकाइरहेको छ ।”
उहाँले मधेशमा दिनप्रतिदिन वन विनाश भइरहेकाले बाढी र भू–क्षयको समस्या तीव्र बनेको जनाउँदै रोपिएका बिरुवाको संरक्षणसहितको वृक्षरोपण अभियान ८ वटै जिल्लामा सञ्चालन भइरहेको जानकारी दिनुभयो।मन्त्री यादवले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन उद्देश्यसहित वृक्षरोपण अभियान सञ्चालन गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, वृक्षरोपणले भूमिगत जलस्रोत पुनःभरण, जमिनको कटान नियन्त्रण, तापक्रम नियन्त्रण र जैविक विविधताको संरक्षणमा योगदान पु¥याउने छ।यसका लागि सरकार मात्र होइन प्रत्येक नागरिकको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको स्पष्ट पार्नुभयो।उहाँले जनताको भूमिकाबिना वृक्षरोपण अभियान सफल नहुने उल्लेख गर्दै स्थानिय समुदाय, विद्यालय, युवा क्लब, नागरिक समाज र सञ्चार माध्यमको सहयोग अपरिहार्य भएको बताउनुभयो।
बुद्ध कबुलियत वन क्षेत्रभित्र खाली रहेको १० हेक्टर जमिनमा बाँस, सिसौ, आमला, सिमल, टिक, आँपलगायत फलफूल तथा काठजन्य रुखका बिरुवा रोपिने डिभिजन वन कार्यालय धनुषा प्रमुख विनोदन सिंहले बताउनुभयो।