• १२ साउन २०८१, शनिबार

रेग्मीको लोभलाग्दो कागती खेती

blog

कागती खेतीमा रमाउँदै स्थानीय कृषक राजु रेग्मी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ९ गते । तनहुँका एक युवाले दक्षिण कोरियाको रोजगारी छाडेर गाउँमे कागती खेती गरेर लोभलाग्दो कमाइ गर्न सफल हुनुभएको छ । व्यास नगरपालिका –१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले कागती खेतीबाट आफूखुशी रहेको बताउनुभयो । सुन कागती जातको कागती गरेर धन कमाउन  विदेश जानुपर्दैन भन्ने सन्देश दिनुभएको छ । गाउँमै कागती खेती गरेर कोरियाको जस्तै कमाइ गर्दै आउनु भएको छ । 

भिसा अवधि रहँदै त्यसलाई रद्द गरी यही माटोमा सुन फलाउने सुकर्म गरिरहनुभएको छ । रेग्मीले गाउँमा बाँझो रहेको २६ रोपनी पाखो बारीमा कागती खेती गर्नुभएको छ । स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचेर   व्यावसायिक रुपमा खेती गरेको उहाँले बताउनुभयो । 

आठसय बिरुवामध्ये हाल ६ सय बिरुवाले उत्पादन दिन थालेको रेग्मीले जानकारी दिनुभयो । एक बोटबाट करिब तीन हजार पाँच सय रुपियाँको कागती फलिरहेको रेग्मीले बताउनुभयो । गतवर्ष कागती बिक्री गरेर १५ लाख आम्दानी गरेको र यस वर्ष बोट हुर्कदै गएकाले २२ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको रेग्मीले बताउनुभयो ।

दुई वर्ष सबै बिरुवा हुर्कने हुँदा मासिक तीन लाख रुपियाँ आम्दानी गरी कोरियाको कमाइ स्वेदमै गर्ने योजना रहेको रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो, ‘जुनसुकै राष्ट्रहरुले पनि देशको अर्थतन्त्रको विकास गर्न स्वयम् आफ्नै देशमा उत्पादन गर्नुपर्छ, आयातित वस्तुलाई घटाएर निर्यातमा जोड दियो भने देशको समृद्धि हुन्छ ।’

गाउँमै कोरियाको आम्दानी गर्ने योजना बनाएर नौ वर्ष काम गरेर बिचमै छाडेको रेग्मीले बताउनुभयो । रेग्मी भन्नुभयो, ‘स्वदेशमा केही गरेको छु भनेर आत्मसन्तुष्टि छ ।’ पाँच वर्ष अघिदेखि नै रेग्मीको परिवारले कागती खेती गर्दै आउनुभएको छ । 

कागती खेतीका लागि जीवन सङ्गिनी सिर्जना रेग्मीले साथ दिनुभएको उहाँले बताउनुभयो । आफ्नो कृषि फर्मका लागि कृषि ज्ञान केन्द्र तनहुँ र व्यास नगरपालिकाले प्राविधिक सहयोग गरिरहेकाले काम गर्न सहज भएको रेग्मीले बताउनुभयो । मेहनत गर्ने हो भने यहीको माटोमा सुन फलाउन सकिन्छ भन्ने सन्देश रेग्मीले दिएको व्यास नगरपालिका –१ चारकुने निवासी राजेन्द्र श्रेष्ठको भनाइ छ । 


उहाँले भन्नुभयो, ‘कोरियाको जागिर छाडेर गल्ती गरेको भन्नेहरु हाल पछुताउन थालेका छन् ।’ उत्पादित कागती अधिकांश तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा बिक्री हुनेगरेको रेग्मीले जानकारी दिनुभयो । प्रतिकिलो एकसय रुपियाँ थोकमा कागती बिक्री गरिरहेको रेग्मीले बताउनुभयो । 

भारतमा प्रविधिको प्रयोग हुने, सहुलियतमा किसानले ऋण पाउनेजस्ता कारणले त्यहाँका उत्पादन सस्तो पर्ने हुँदा बजारमा प्रतिस्पर्धा गर्न कठिन हुनेगरेको रेग्मीले बताउनुभयो । भारतीय कागतीलाई कर लगाएर महँगाे बनाउने हो भने स्वदेशी कृषकलाई मर्का नपर्ने रेग्मीको सुझाव छ । 

उहाँका अनुसार बजारमा कागतीको माग धेरै छ । नेपाली उत्पादनले २० प्रतिशत र भारतीय उत्पादनले ८० प्रतिशत बजार ओगटेको छ । रेग्मीले भन्नुभयो, ‘स्वदेशी कृषकलाई सहुलियत दिएर भारतीयको जस्तै सस्तो उत्पादन हुने वातावरण बनाउनु पर्छ कि आयातितलाई कर लगाउनुपर्छ, कागती खेतीमा सम्भावना धेरै छ ।’