राधा चालिसे
काठमाडौँ, वैशाख ११ गते । विदेशी मुद्राको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण चालू आर्थिक वर्षमा घटेको छ ।चालू आवको फागुन समान्तसम्म छ खर्ब ३१ अर्ब १९ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कम हो । २०७७ फागुनमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले वृद्धि भई छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ थियो । २०७६ को फागुनमा विप्रेषण आप्रवाह पाँच खर्ब ९१ अर्ब १९ करोड रुपियाँ रहेको थियो ।
कोरोना महामारीको समयमा पनि बढेको विप्रेषण आप्रवाह महामारी मत्थर भएको चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै घटिरहेको छ । विश्वभर कोभिड–१९ को महामारी रहेका बेला विप्रेषण घट्ने अनुमान गरिएको थियो, अनुमानविपरीत विप्रेषण आप्रवाह बढ्यो तर महामारी कम भएपछि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गए पनि विप्रेषण आप्रवाहमा भने वृद्धि भएन ।
कोभिड–१९ का कारण विश्वभर नै बन्दाबन्दीको अवस्था भएपछि वैदेशिक रोजगारीमा रहेका व्यक्तिको खर्च कटौती हुन पुग्यो । उनीहरूले परिवारको स्वास्थ्य उपचार र सङ्कटको समयलाई पनि दृष्टिगत गर्दै अलिक बढी विप्रेषण
पठाएका थिए ।
महामारीको समयमा आयात निर्यात व्यापार पनि बन्दजस्तै भएकाले हुण्डीमार्फत भित्रिने गरेको विप्रेषण बैङ्किङ प्रणालीबाट भित्रँदा अपेक्षा गरेभन्दा अलिक बढी नै विप्रेषण रकम जम्मा भएको नेपाल बैङ्कर्स सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताउनुभयो तर पुनः आयात निर्यातको गति लिन थाल्दा तुलनात्मक रूपमा विप्रेषण आप्रवाह ओरालो लागेको शर्माको भनाइ छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान पु¥याउँदै आएको विप्रेषण पछिल्लो समय २५ प्रतिशतभन्दा कममा झरेको छ । सरकार र नेपाल राष्ट्र बैङ्कले विभिन्न प्रोत्साहन घोषणा गरे पनि त्यो सफल भएको भने देखिँदैन ।
प्रोत्साहन नीतिको परेन प्रभाव
मुलुकको गरिबी निवारणको मुख्य आधार मानिएको र विदेशी मुद्राको सञ्चितिको अवस्थालाई समेत विशेष टेको दिँदै आएको विप्रेषणलाई औपचारिक माध्यमबाट भिœयाउन, भित्रिएको विप्रेषणलाई उपभोगमा मात्र खर्च नगरी लगानीका क्षेत्रमा समेत उपयोग गर्न सकिने अपेक्षाले वैदेशिक रोजगार खातामा थप १ प्रतिशत ब्याजदरको घोषणासमेत गरेको छ तर त्यसले विप्रेषण पठाउनेलाई कुनै आकर्षण गर्न नसकेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
राष्ट्र बैङ्कको प्रोत्साहनको नीतिबाट अन्य केही व्यक्तिले फाइदा लिएका हुनसक्ने अनुमान गरिँदै छ । त्यसको छुट्टै अध्ययन हुनपर्छ ।
प्रोत्साहन नीतिले पारेन प्रभाव
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत विप्रेषण आय औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहन गर्ने उद्देश्यले बैङ्क तथा वित्तीय संस्था र विप्रेषण कारोबार गर्न अनुमति प्राप्त संस्थाहरूले विप्रेषण कारोबारमा लिने शुल्क निर्धारण सम्बन्धमा नीतिगत व्यवस्था गर्ने उल्लेख गरेको थियो ।
मोबाइल वालेटलगायतका विद्युतीय कारोबार व्यवस्थित गरी औपचारिक माध्यमबाट विप्रेषण आय भिœयाउन प्रोत्साहन गरिने नीति पनि राष्ट्र बैङ्कले लिएको छ । सोही नीतिअनुसार विप्रेषणबाट प्राप्त रकममा बैङ्कहरूले १ प्रतिशत थप ब्याज प्रदान गर्ने गरेका छन् ।
यो नीतिले सकारात्मक प्रभाव पारेको भने नदेखिएको नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विप्रेषणको रकम बैङ्कमा बचत भएको देखिएको छैन । अधिकांश रकम उपभोगमा नै खर्च भएको छ ।”
विप्रेषण प्राप्त गर्ने परिवारको सामाजिक, आर्थिक जीवनस्तरमा केही सुधार देखिएको छ र गरिबी निवारणमा सकारात्मक प्रभाव पारेको विश्वास लिइन्छ । “तर सरकारले जुन अपेक्षा गरेर विप्रेषणबाट प्राप्त रकमको ब्याजदरमा थप सुविधा दिएको छ त्यसको प्रभाव परेको छैन,” उहाँले स्पष्ट पार्नुभयो ।
कोभिड–१९ पछि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको र गन्तव्य मुलुकमा पनि आर्थिक गतिविधिले गति लिँदा विप्रेषण आप्रवाह सुधार हुन थालेको सङ्केत देखिएको छ ।