• १० भदौ २०८२, मङ्गलबार

तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव हो : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजलाई नाचगानको पर्वको रुपमाभन्दा तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवको रुपमा लिनुपर्ने बताउनुभएको छ । 

तिज पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘तिजलाई प्राय गीत–नृत्यको पर्वका रूपमा मात्र बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’

प्रधानमन्त्री ओलीले थप्नुभएको छ, ‘प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समयक्रममा महिलामात्र व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मत र विचारहरू पनि आएका छन् । हाम्रो संस्कृतिले तिजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ ।’

दिदीबहिनीहरूलाई तिजको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ,  ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तिजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।’ देश विदेशमा रहनुभएका सबै दिदीवहिनीहरुमा उहाँले तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।