• १२ साउन २०८१, शनिबार

मलङ्गवाबाट लाइसेन्स वितरण सुरु

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ८ गते । सर्लाही सदरमुकाम मलङ्गवाबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मलङ्गवाले शुक्रबार चक्रघट्टा गाउँपालिका–६, पडरिया निवासी स्नेहाकुमारी मण्डललाई स्कुटरको ट्रायल पास भएपछि पहिलो सेवाग्राहीका रूपमा लाइसेन्स प्रदान गरेर यो सेवा प्रारम्भ गरेको हो । मण्डललाई मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले लाइसेन्स प्रदान गर्दै लाइसेन्स वितरण कार्यको आरम्भ गर्नुभएको छ । 

मन्त्री लुङ्गेलीले कार्यालय स्थापनाको छोटो समयमै व्यवस्थापन मिलाएर लाइसेन्स वितरण कार्य प्रारम्भ गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सेवाग्राहीबाट गुनासो आउनेमध्येको यातायात व्यवस्था कार्यालयको सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्नेमा मन्त्री लुङ्गेलीले जोड दिनुभयो । यातायात व्यवस्था कार्यालय मलङ्गवाका प्रमुख राकेशकुमार यादवले लाइसेन्स वितरणसँगै कार्यालयबाट अब सम्पूर्ण सेवा सुरु भएको बताउनुभयो । उहाँले आफू कार्यालय प्रमुख रहुन्जेल सेवाग्राहीलाई दुःख नदिने साथै गलत काम हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

सदरमुकाम मलङ्गवामा गएको मङ्सिर १७ गते यातायात व्यवस्था कार्यालयको उद्घाटन भएको थियो । मलङ्गवामै लाइसेन्स वितरण तथा नवीकरण, सवारी किताब (ब्लु बुक) दर्ता तथा नवीकरण, रुट परमिटसहितका सेवा पाएपछि यहाँका सेवाग्राहीलाई बर्दीबास तथा अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता टरेको छ ।