• १२ साउन २०८१, शनिबार

पुल नहुँदा ससुराली जाने सपना अधुरै

blog

पुल निर्माणको मागसहित २०७६ सालमा बैतडीमा गरिएको रिले अनशन । फाइल तस्बिर

गोकर्ण दयाल 

बैतडी, जेठ ८ गते । पश्चिमी सीमानाका झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै ससुराली जाने घोषणा गर्दा समाजका अगुवा व्यक्तिको नै ससुराली जाने सपना अधुरो रहेको छ । झुलाघाटमा मोटरेबल पुल बनेपछि मात्रै भारतमा रहेको ससुराली जाने कसम खानेमध्येका एक व्यक्ति हुन् उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द । अध्यक्ष चन्द झुलाघाटमा मोटरेबल पुल नबन्दा २४ वर्षदेखि ससुराली जान पाउनुभएको छैन । 

मोटरेबल पुलका लागि चन्दले गरेको यो साङ्केतिक आन्दोलन हो । पुलका लागि यति मात्रै होइन, उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपाल–भारत सीमा क्षेत्रका करिब १० हजार नागरिकको हस्ताक्षर सङ्कलन र २०७६ भदौ २२ गतेदेखि एक महिना लामो रिले अनसन पनि भएको थियो । यद्यपि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । मोटरेबल पुल नबनेसम्म भारत नजाने, विवाह नगर्ने आदि घोषणा गर्ने अन्य व्यक्ति पनि रहेका छन् । नेपाल–भारत वारिपारि बिहेवारी हुने गरेको छ । नेपाल–भारत रोटीबेटीको मात्रै सम्बन्ध होइन, बैतडीमा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि हजारौँ भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका छन् ।

सीमा क्षेत्रसम्म दुवै देशबाट सडक पुगे पनि महाकाली नदीमा मोटरेबल पुल नहुँदा दुई देशका नागरिक इस्ट इन्डिया कम्पनीका पालामा बनेको जीर्ण झोलुङ्गे पुलबाट ओहोरदोहोर गर्दै आइरहेका छन् । 

सीमा क्षेत्रमा मोटरेबल पुल भइदिए भारतीय पर्यटक भित्रिने सम्भावना प्रवल छ । पुल निर्माणको काम अघि नबढेको दुई देशका नागरिकको गुनासो छ । दुई देशका प्रधानमन्त्रीले पुल बनाउने घोषणा गर्दा पनि काम अघि नबढेको सङ्घका अध्यक्ष नरबहादुर चन्दले गुनासो गर्नुभयो । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । अहिले पनि झुलाघाट नाका भएर सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारण रोजगारीका लागि भारत जाने गरेका छन् । 

 प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट र डडेलधुराको सिर्समा मोटरेबल पुल निर्माण गरेर दुई देशबिच यातायात जोड्ने घोषणा गर्नुभएको थियो । घोषणापछि भारतीय प्राविधिक टोलीले झुलाघाटमा बन्ने मोटरेबल पुलको सम्भाव्यताका लागि स्थलगत निरीक्षणसमेत गरेको थियो । प्राविधिक टोलीले झुलाघाटमा ५१० मिटर लामो मोटरेबल पुल बन्ने जानकारी दिएको हो । 

झुलाघाटमा मोटरेबल पुल बन्ने कुराले नेपाल–भारत दुवै देशका नागरिक खुसी भए पनि पुलको काम अघि बढ्ने कुनै सुरसार नहुँदा निराश हुनु परेको झुलाघाटका स्थानीय जयसिंह भाटले बताउनुभयो । झुलाघाट मोटरेबल पुल र भारतपारि जोलजीवी–टनकपुर जोड्ने सडक निर्माणको कामले गति लिन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले सास्ती भोग्नु परिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो ।