• १२ साउन २०८१, शनिबार

५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

blog

भद्रपुर (झापा), जेठ ७ गते । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रू. ६० देखि ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो ।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति भएमा बीउ उत्पादकले नै क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरिएको बताउनुभयो । 

धानको उत्पादन तथा बीउमा गुणस्तर नियन्त्रणका लागि उत्पादकसँग सम्झौता गरी वितरण गर्न लागिएको भन्दै भद्रपुर पहिलो नगरपालिका भएको कृषि अधिकृत विमलीले दाबी गर्नुभयो । उहाँका अनुसार नगरभित्रका किसानको मागका आधारमा २९ हजार आठ सय ८० किलो धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको छ ।

कृषि विकास शाखाका अनुुसार लल्का बास्मती, सुक्खाधान-३, बहुगुणी-१, बहुगुणी-२, शुद्धोधन कलानामक, साँवा मसुली सव-१, रामधान, स्वर्णा सव-१ र राधा-१२ जातका धानको बीउ खरिद गरिएको हो । कृषि अधिकृत विमलीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउ वितरण गरिएको हो । 

उहाँले किसानका मागका आधारमा औसतमा ३० किलोसम्म बीउ उपलब्ध गराइरहेको जानकारी दिनुभयो । कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन नगरपालिकाले समय समयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ । रासस