फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ७ गते ।
रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा ?
जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो ।
तनहुँ जिल्लाको शुक्लागण्डकी–११, राईपुरमा जन्मिएका जोशीको ९४ औँ जन्मजयन्ती चैत ८ गते मनाइँदै छ । तनहुँ सम्पर्क समाज पोखरा, गण्डकी साहित्य सङ्गम पोखरालगायतले जनकविको सम्झना गर्दै विविध साहित्यिक गतिविधि गर्दै आएका छन् । सङ्गमले जोशीको सम्मानमा स्थापित गोकुल वाङ्मय पुरस्कार दुई दुई वर्षमा वितरण गर्दै आएको छ । उहाँको जन्मथलो तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर, खोलाखेतमा गोकुल पार्क निर्माण गरिएको छ । जोशीको जन्मघरलाई सङ्ग्रहालय बनाउने योजनासमेत रहेको स्थानीय स्ट्रगन रानाले जानकारी दिनुभयो ।
जनकविका केही कविता स्थानीय पाठ्यव्रmममा राखिएका छन् । जोशीका उपलब्ध रचना राखेर ‘गोकुल जोशीका सङ्कलित रचनाहरू’ पुस्तक प्रकाशन गरिएको छ । सो कृतिका सम्पादक तथा समालोचक सुकुम शर्माका अनुसार झ्याउरे लयमा सरल, मार्मिक र स्पष्ट अभिव्यक्ति दिने जोशीका कवितामा इमानको जलप चम्किएको पाइन्छ । ‘नेपाली साहित्यको इतिहास २०२७’ मा डा. तारानाथ शर्माले लेख्नुभएको छ, “निष्ठुरी समयले कवि जोशीलाई बौलाहा पा¥यो र निर्मम कालले टपक्क चुँडेर लगिदियो ।”
जनकविको कृति ‘एसियाको फूलबारी नेपाल’ मा भारतीय साहित्यकार राहुल सांस्कृत्ययानले हिन्दीमा छोटो भूमिका लेख्नुभएको छ । जोशीबारे राहुल सांस्कृत्ययानले लेख्नुभएको छ, “दुसाध्य पहाडको चुलीमा कष्टले पुगेका सर्जकको कामको पूर्ण कदर हुने विश्वास गरेको छु ।”
२००९ देखि साहित्यमा अलि बढी सव्रिmय जोशीको निधन २०१८ मा विक्षिप्त अवस्थामा मलेरिया र निमोनियाबाट झापाको घैलाडुब्बामा भएको थियो । जोशीबारे भएका अध्ययनमा उल्लेख भए अनुसार उहाँले छ वर्ष हुँदै बुवा गुमाउनुभएको थियो । सात सन्तानलाई हुर्काउने आमालाई सघाउन र आर्थिक उन्नति गर्न उहाँ १३ वर्षमा लाहुर अर्थात् भारत जानुभएको थियो । २००७ को व्रmान्तिपछि नेपाल फर्किएर उहाँले धेरै ठाउँमा रोजगारीका लागि फिरन्ते जीवन बिताएको देखिन्छ ।
जनकवि जोशीले प्रवासका सिलाङ, कोलाकता, मद्रास, मुम्बईसहित नेपालका विभिन्न भाग घुम्दै, लेख्दै गर्नुहुन्थ्यो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. कृष्णराज अधिकारीका अनुसार अभावग्रस्त पारिवारिक जीवन, अविवाहित र घुमक्कड स्वभावले जोशीलाई जीवनभर दुःखले साथ छाडेन ।
“उहाँले आफ्नो स्वभाव र परिवेशले दुःख पाउनुभयो । अहिले पनि ऊर्जावान् तन्नेरीहरू किन जनकवि जस्तै विक्षिप्त बनाइन्छन् कि देशै छाडेर परदेसिन्छन्, उहाँ अहिलेका युवाको पनि प्रतिनिधि देखिनुभएको छ,” डा. अधिकारीले भन्नुभयो ।
जनकविले जीवनकालमा कुनै पुरस्कार, सम्मान पाउनुभएन । कुनै बेला सिर्जना बेचेरै पेट भर्ने कवि जोशीले कवि कलाकारको अवस्थाबारे यस्तो लेख्नुभएको छ,
भोक भोकै मर्न लागे कवि कलाकार
तड्पाएर नमारिद्यौ, झुन्ड्याएर मार !