• १२ साउन २०८१, शनिबार

वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’

blog

फुङ्लिङ नगरपालिका–६ मा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई हाउस बुक वितरण । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ५ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङले आफूले पाउने सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’ प्रदान गर्नुभएको छ । वडाध्यक्ष गुरुङले वडामा सञ्चालित विभिन्न तीनवटा विद्यालयका ४५ जना विद्यार्थीलाई हाउस बुक उपलब्ध गराउनुभएको हो ।

कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई एक–एक थान (सेट) का दरले हाउस बुक गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर अनुसार साना बालबालिकालाई पाठ्यपुस्तक अत्यधिक बढी भएकाले थप अतिरिक्त पुस्तकका रुपमा हाउस बुक वितरण गरिएको हो ।

अतिरिक्त पुस्तक अर्थात् हाउस बुक पाएपछि साना विद्यार्थीले विद्यालयबाट उपलब्ध हुने पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ । विद्यालयले प्रदान गरेको पुस्तक विद्यालयमै राख्ने र हाउस बुकका रुपमा प्रदान गरिएको पुस्तक घरमा हुने भएको भएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँकाअनुसार घरबाट विद्यालय जाँदा र घर फर्किदा विद्यार्थीहरुले अभ्यास पुस्तिकामात्र बोक्नुपर्ने गरी व्यवस्था मिलाइएको छ । वडाध्यक्षले पाउने सेवासुविधा बापतको कुल २८ हजार ८०८ रुपियाँ बराबरको अतिरिक्त पुस्तक (हाउस बुक) विद्यार्थीहरुलाई उपलब्ध गराइएको छ ।