रमेश विश्वकर्मा
गुल्मी, जेठ २४ गते । गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा गर्नुभएको हो ।
समन्वय प्रमुख खत्रीले खानपिनमा ध्यान नदिँदा पछिल्लो पटक नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको हुँदा सबैले खानपिनमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो। नसर्ने रोगको रोगथामका लागि नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन स्वास्थ्य स्वयंसेविकाहरु लाग्न आवश्यक रहेको उहाँको भनाइ छ । “हरेक नागरिक स्वस्थ हुन आवश्यक आवश्यक छ ।’’ उहाँले भन्नुभयो, “नागरिकलाई स्वस्थ बनाउनका लागि तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी छ ।’’
सरकारले भौतिक विकाससँगै मानव विकासका क्षेत्रमा पनि विशेष जोड दिन जरुरी रहेको उहाँले बताउनुभयो । “हामीले गर्ने हरेक विकासलाई नागरिकसँग जोड्नुपर्छ ।’’ समन्वय प्रमुख खत्रीले भन्नुभयो, “मानव पुँजीको उत्पादनसँगै विकासमा सबै एकताबद्ध भएर लागौं ।’’
हरेक बालबालिकाको भविष्यलाई राम्रो बनाउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो । समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार यहाँ रहेका सबै बालबालिकालाई खोप दिएपश्चात् मदाने गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुका साथै यहाँका शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गरिसकेको हुँदा पूर्ण संस्थागत प्रसूति र यहाँका बालबालिका, किशोर किशोरी र महिलाहरुको पोषण स्थितिमा सुधार ल्याउन स्वास्थ्य संस्थामा पोषण सेवा लिन मिल्ने र समुदायले पोषण कार्यक्रमलाई सफल बनाउन अपनत्व हुने हुँदा पूर्ण पोषण मत्री पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख तीर्थराज पन्थीले बताउनुभयो ।
यस गाउँपालिकाका सात वटै वडामा रहेका लक्ष्यित समूह अर्थात् १६ देखि ५९ महिनाका ९८४ बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको उहाँले बताउनुभयो । अग्लुङ्ग स्वास्थ्य चौकीबाट १८४, बाझकटेरी स्वास्थ्य चौकीबाट १२०, सिर्सेनी स्वास्थ्य चौकीबाट १५९, म्यालपोखरी स्वास्थ्य चौकीबाट ८४, मलागिरी स्वास्थ्य चौकीबाट ११७, पुर्कोटदह स्वास्थ्य चौकीबाट २१९ र भनभने स्वास्थ्य चौकीबाट १०१ गरी यहाँ रहेका कुल ९८४ जना लक्ष्यित बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न गाउँपालिकाले सात वटा स्वास्थ्य संस्था र एक वटा सामुदायिक केन्द्रमा वर्थिङ सेन्टरको व्यवस्था गरेको छ । यहाँ रहेका २४ देखि ३५ महिनाका २५९ बालबालिकामध्ये कम्तीमा १८ पटक २४५ जना बालबालिकाले तौल लिएका थिए । बालबालिकाको तौलको आधारमा पोषणको सेवामा सहजता मिलेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी लगायतले गाउँपालिका “पूर्णखोप सुनिश्चित, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ पालिका घोषणाको चरणसम्मा आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। यसको सुनिश्चितता र दिगोपनाका लागि सधै निरन्तर लाग्ने भन्दै उहाँहरुले गाउँपालिकाको सेवा प्रवाहलाई गुणस्तर र सबैको पहुँचमा पुर्याउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी दिनमा पनि समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, पहुँच अभाव भएका क्षेत्रमा सेवा विस्तार गर्ने र हरेक नागरिकसम्म गुणस्तरीय सेवा पुर्याउने कार्यलाई विशेष प्राथमिकता दिनुका साथै गाउँपालिका सधैँ नागरिकको पक्षमा रहेको बताइएको छ ।