• ५ असार २०८१, बुधबार

तापलहरको छैन मापदण्ड

blog

काठमाडौँ, जेठ ५ गते । तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप बढ्दै गएको छ । नेपालमा भने तापलहर अर्थात् लुको मापदण्ड नहुँदा तापक्रमजन्य प्रकोपसँग लड्ने रणनीति बनाउन अप्ठ्यारो परेको छ । विभिन्न मुलुकले लुको राष्ट्रिय मापदण्ड बनाएर अनुकूलन र न्यूनीकरणका लागि रणनीति बनाउने गरेका छन् तर नेपालमा कति तापक्रम कहाँ हुँदा तापलहर वा लु फैलन्छ भन्ने यकिन गर्न मापदण्ड नै छैन । 

गत वर्षदेखि तापलहरको सामान्य पूर्वानुमान थालेको जल तथा मौसम विज्ञान विभागले पनि यकिन मापदण्ड तय गरेको छैन । त्यसका लागि तापलहरको औसत तथ्याङ्क अर्थात् करिब ३० वर्षको आँकडा आवश्यक पर्छ, जुन नेपालले सङ्कलन नै गर्न सकेको छैन ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार आयोजना गरेको तापलहर न्यूनीकरणसम्बन्धी बहसमा सहभागीले सबैभन्दा पहिले तापलहर अर्थात् लुको राष्ट्रिय मापदण्ड बनाउन माग गर्नुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले नेपालमा पछिल्लो समय तीन सय स्टेसनमार्फत बढ्दो तापक्रमको आँकडा सङ्कलन भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा प्रतिवर्ष ०.०५२ डिग्री सेल्सियस अधिकतम तापक्रम र ०.००२ डिग्री न्यूनतम तापक्रमका दरले तापक्रम वृद्धि भइरहेको छ ।” बढ्दो तापक्रमकै कारण तापलहरसँगै कडा लुको हावा चल्ने क्रम पनि बढेको उहाँले बताउनुभयो । यसरी तापक्रम बढ्दै जाने हो भने भविष्यमा पूर्वानुमान नै गर्न नसक्ने जलवायुजन्य प्रकोपका घटना बढ्दै जाने पनि उहाँले स्पष्ट पार्नुभयो । 

अहिलेसम्म छिमेकी मुलुक भारतको मापदण्डका आधारमा नेपालमा लु चलेको नचलेको अनुमान गरिँदै आएको छ । त्यहाँ तराईमा ४० र पहाडमा त्योभन्दा बढी ३० डिग्री तापक्रम भएमा लुको प्रक्रिया सुरु हुन्छ भन्ने मापदण्ड रही आएको छ अर्थात् जति तापक्रम तराईमा हुन्छ, पहाडमा त्योभन्दा ४ डिग्री कम भएमा अब लु चल्छ भन्ने मान्यता छ । त्यही अनुसार राष्ट्रिय अनुकूलनका योजना कार्यान्वयनमा जाने गर्छ । 

नेपालको तराईका २२ जिल्ला तापलहरले अति प्रताडित हुने जिल्ला अन्तर्गत पर्छन् । जहाँको तापक्रम वैशाख र जेठको पहिलो सातामा नै ४० डिग्री सेल्सियसभन्दा माथि उकलिँदै गएको छ ।  

भारतमै मापदण्ड मान्ने हो भने नेपालको तराई र पहाड दुवैतिर तापलहरको अवस्था सुरु भइसकेको छ । विभागले केहीअघि सार्वजनिक गरेको मनसुनी वर्षा र तापक्रमको पूर्वानुमानले पनि यो वर्ष नेपालको अधिकांश भूभागको तापक्रम बढ्ने सङ्केत गरिसकेको छ । अझ आउँदो जुन र जुलाईको महिनामा कम वर्षा हुँदा दुवै महिनाको तापक्रम थप उच्च हुने भएको छ । 

तापलहर र कडा लुबाट जनधनको क्षति कम गर्न केन्द्र, प्रदेश र स्थानीय सबै तहको संयोजनकारी भूमिका आवश्यक रहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । सङ्कलित सुझावका आधारमा उहाँले अर्को हप्तासम्ममा नेपालको तापलहर र लुको राष्ट्रिय मापदण्ड बनाएर तापलहरको सचेतना अभियानसँगै अनुकूलनका योजनालाई अगाडि बढाइने जानकारी दिनुभयो । 

प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जिल्लास्थित विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाएर तराईका जिल्लामा तापलहरबाट जनताको जिउधन जोगाउन सकिने बताउनुभयो । तराईमा सकेसम्म विद्युत् आपूर्ति कटौती नगर्ने, हाटबजार व्यवस्थापन गर्ने, दिनमा कम हिँडडुल र मेला महोत्सव कम गर्ने, अति भएमा विद्यालय बन्द गराउने तथा प्राधिकरणको अनुगमनमा तराईका जिल्लामा विद्युतीय पङ्खा वितरण गर्न सकिने अवधारणा उहाँले अघि सार्नुभयो । 

नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष सुरेशसिंह ऐरले नेपालमा लुकै कारण मानिसको मृत्यु भएको सरकारी तथ्य नभए पनि विभिन्न अध्ययनले सन् २००२ देखि २०१० सम्म २५ जनाको मृत्यु भएको आँकडा प्रस्तुत गरेको बताउनुभयो । उहाँले विदेशी अनुभव सुनाउँदै सन् २००३ मा युरोपमा लु चल्दा ७० हजार मानिसको ज्यान गएको औँल्याउनुभयो ।  नेपालमा मापदण्डको अभावमा ठ्याक्कै लु लागेर मृत्यु भएको तथ्य ल्याउन प्रहरीले पनि नसकेको नेपाल प्रहरीका डिआइजी भरतबहादुर बोहराले बताउनुभयो ।