• १२ साउन २०८१, शनिबार

सूचना टाँस गरेर प्रदेश सभाको अधिवेशन अन्त्य

blog

सुदूरपश्चिम प्रदेश सभा।

अविनाश चौधरी

धनगढी, जेठ ४ गते। सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन सूचना टाँस गरेर अन्त्यको घोषणा गरिएको छ। 

आज राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको तेस्रो अधिवेशन प्रदेश प्रमुखले अन्त्य गर्नु भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ। 

यसैबिच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना टाँसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरिएकोप्रति आपत्ति जनाएको छ। यो परम्पराले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको महसुस भएको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

नेपाली कांग्रेस सधैभरि सबै समस्याको समाधान र छलफलका माध्यमबाट संसद भित्र र बाहिर गर्न चाहे पनि सभामुख भीमबहादुर भण्डारीले सूचना टाँसेर अधिवेशन अन्त्य गर्नु दलीय छायाको अनुभूति भएको कांग्रेस संसदीय दलको ठहर छ। प्रमुख प्रतिपक्षीको नाताले कांग्रेस संसदीय दलले आगामी अधिवेशनसहित अन्य क्रियाकलापको सन्दर्भमासमेत सभामुखको भूमिका अवलोकन गर्ने उल्लेख गरिएको छ। 

संसद प्रतिपक्ष र सत्तापक्षको हुने हुँदा आगामी दिनमा सभामुखको भूमिकामा सुधार नदेखिए चालिने कदमको प्रतिफलको जिम्मेवार स्वयम सभामुख नै हुने भन्दै विज्ञप्तीमार्फत चेतावनीसमेत दिइएको छ।