• १२ साउन २०८१, शनिबार

आगलागीपीडितका लागि दुई लाखभन्दा बढी राहत सङ्कलन

blog

राजकुमार भट्टराई
खोटाङ, जेठ ४ गते । 
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका डढेलो तथा आगलागीपीडितका सहयोगका लागि राहत रकम सङ्कलन गरिएको छ । सात राजनीतिक दलको नगर कमिटीको अगुवाइमा जेठ ३ गतेसम्ममा दुई लाख बढी रकम सङ्कलन भएको छ ।

२३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपियाँ सङ्कलन भएको हो । नगरपालिकामा क्रियाशील राजनैतिक दलको गत वैशाख १८ गतेको बैठकले अग्निपीडितको सहयोगार्थ संयुक्त रूपमा आर्थिक सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरमा क्रियाशील दलले अग्निपीडितको सहयोगका लागि घरदैलो अभियानसँगै ‘क्युआर’ कोड समेत सञ्चालनमा ल्याएका छन् । नगरपालिकामा डढेलो तथा अन्य कारणबाट करिब ५० घर, मतान र गोठ जलेको छ ।

११ वडा रहेको नगरपालिकामा विभिन्न मितिमा लागेको डढेलो र आगलागीबाट विस्थापित भएका दर्जनौँ स्थानीयको पुनर्स्थापनाका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटीले सहयोग अभियान थालेको हो । डढेलोबाट घर, गोठ तथा पशुचौपाय गुमाएका पीडितको सहयोगार्थ सुरु गरिएको अभियान केही समय जारी रहने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार निवासी एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले बताउनुभयो ।

दलका नगर समितिले अग्निपीडितलाई सहयोग गर्ने स्थानीय सरकार, सङ्घसंस्था लगायतलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोग अभियान थालेका हुन् । सात दलका नगर कमिटीले नेता, कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, सामाजिक अभियन्ता र मनका धनीहरूलाई सहयोग अभियानमा जोडिन आह्वान गरेका छन् ।