• १२ साउन २०८१, शनिबार

क्षयरोगीलाई पोषण

blog

टीकापुर समाचारदाता 

टीकापुर, जेठ ३ गते । टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । क्षयरोगमुक्त पालिका अभियान सफल पार्न क्षयरोगको औषधी खाइरहेका बिरामीलाई पोषण वितरण गरेको हो । 

पोषणमा चामल, अन्डा, तेल, खाल, गेडागुडीलगायत तीन हजार रुपियाँ बराबरका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । 

पोषण सहयोग २९ जनालाई वितरण गरिएको छ भने थपलाई बाँड्दै जाने कार्यक्रम रहेको पालिकाले जनाएको छ । क्षयरोग प्रभावित नौ वर्षका छोराका लागि पोषण लिन आएकी एक महिलाले नगरपालिकाबाट पाएको सहयोगले बच्चालाई पोषण खुवाउन सहयोग पुगेको बताउनुभयो ।

टीकापुर नगरपालिकामा यस वर्ष मात्रै १०८ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । १७६ जनाले औषधी खाएर सन्चो भएको छ । घरदैलोमा पुगेर क्षयरोगी पत्ता लगाउन १० जना स्वयंसेवक परिचालन गरेको छ । 

नगरभित्रका १० वटा स्वास्थ्य संस्थामा क्षयरोग सम्पर्क व्यक्ति तोकेको छ भने क्षयरोगी पत्ता लागि सकेपछि निरन्तर पछ्याएर पूरा समय औषधी खुवाउने कार्य भइरहेको छ । सुदूरपश्चिममा टीकापुर, कृष्णपुर र गन्यापधुरा क्षयरोगमुक्त पालिका अभियानमा छन् ।

क्षयरोगमुक्त अभियानमा लागेका पालिकालाई सङ्घीय सरकारको बजेटबाट एक जना अधिकृतस्तरको कर्मचारी, विभिन्न कार्यक्रमका लागि ६० प्रतिशत अनुदान दिएको छ र स्थानीय सरकारले क्षयरोगीलाई यातायात खर्तबापत एक हजार दिने व्यवस्था छ । 

टीकापुर नगरपालिकाले क्षयरोग कार्यक्रम अधिकृत भर्ना गरेको छैन र यातायात खर्च पनि दिएको छैन । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार  दुई वर्षदेखि तलब आइरहेको अधिकृतको भर्ना र क्षयरोगीलाई दिने यातायात खर्च पालिकाले तुरुन्त दिनु पर्छ ।

नगर प्रमुख रामलाल डगौरा थारूले दुई वर्षअघि क्षयरोग अफिसर भर्ना गर्न लाग्दा प्राविधिक विवादले स्थगित भएको तर अब चाँडै कर्मचारी भर्ना र यातायात खर्चको व्यवस्था गर्ने बताउनुभयो ।