• २८ भदौ २०८२, शनिबार

यातायात कार्यालयको सेवा अनिश्चित

जोखिम मोलेर गुड्न थाले बस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । काठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात क्रमशः सञ्चालन हुन थालेका छन् । ‘जेनजी’ आन्दोलनका कारण निषेधाज्ञा र कफ्र्यु लगाइएपछि बन्द रहेका सार्वजनिक सवारी शुक्रबार स्वस्फूर्त रूपमा सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ तर यात्रुको चहलपहल भने हुन सकेको छैन । 

जेनजी आन्दोलन सुरु भएपछि बन्द भएका यातायात कार्यालय कहिलेदेखि नियमित सञ्चालन हुन्छन् भन्नेमा यकिन छैन । उपत्यकाका यातायात कार्यालयले कुनै निर्देशक नपाउँदा थप अन्योलमा रहेका छन् । तथापि काठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सेवा क्रमशः सञ्चालन हुन थालेको छ । 

आन्दोलनको पहिलो दिन संसद् भवननजिकै रहेको यातायात व्यवस्था कार्यालयमा तोडफोड भएपछि सर्भर बन्द भएको थियो । त्यसपछि देशभरका यातायात कार्यालयमा काम हुन सकेको छैन । आक्रमणबाट जोगिएका उपत्यकाका यातायात कार्यालयमा कर्मचारी हाजिर भए पनि सेवाग्राहीको काम हुन सकेको छैन । लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको यातायात व्यवस्था कार्यालय सवारीचालक एकान्तकुनाका प्रमुख केशवकुमार जिएमले जानकारी दिनुभयो । 

आन्दोलनमा भक्तपुरको यातायात कार्यालय जलेर नष्ट भएको छ । चाबहिलको यातायात कार्यालयमा तोडफोड भएको छ भने हेटौँडाको यातायात कार्यालय आगलागीले ध्वस्त भएको छ । हाल कफ्र्युका कारण सेवाग्राही जाने अवस्था पनि छैन । प्रमुख जिएमले भन्नुभयो, “अहिले सर्भर बन्द छ । सेवा नियमित सञ्चालन कहिले हुने अन्योल छ । अहिलेसम्म कुनै निर्देशन पनि आएको छैन ।”     

सार्वजनिक यातायात सञ्चालनमा पनि अन्योल छ । लामो तथा मध्यम दुरीका यातायात चलेका छैनन् । आन्दोलन सुरु भएपछि व्यवसायीले सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौँ उपत्यकासहित देशैभरि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका थिए । राजनीतिक निकास र जनजीवन सामान्य नहुँदासम्म सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए पनि चार दिनदेखि काठमाडौँमा रहेका बसमध्ये केही बाहिरिएका छन् । 

निषेधाज्ञा र कफ्र्यु जारी रहेको अवस्थामा सेवा सञ्चालन गर्नु जोखिम हुने महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले नचलाउ भनेका बेलामा चलाउनु हाम्रै लागि जोखिम हो । हामीले स्थानीय प्रशासनसँग समन्वय गरेर जानु भनेका छौँ तर सरकारले चलाउ नभन्दासम्म पूर्ण रूपमा चलाउन सकिने अवस्था छैन ।” 

महासङ्घले शान्ति सुव्यवस्था कायम नहुँदासम्म र सडक सुरक्षाको प्रत्याभूति नहुँदासम्म सवारीसाधन नचलाउन निर्देशन गरेको थियो  तर नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भने अवरुद्ध यातायात सेवा तत्काल सञ्चालन गर्न माग गरेको छ । महासङ्घले शुक्रबार ‘जेनजी’ का मागलाई शान्तिपूर्ण संवाद र सहकार्यमार्फत सम्बोधन गरी बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा ल्याउन अपिल गरेको हो ।  

महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गरी जेनजीले अघि सारेका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्ने बताउनुभयो । साथै महासङ्घले संविधानको रक्षा गर्दै सडक यातायात नियमित सञ्चालन गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ । उद्योग, व्यापार, कृषि उत्पादन र आमनागरिकको दैनिकी यातायातमा निर्भर रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने महासङ्घको भनाइ छ ।