• १० पुस २०८१, बुधबार

त्यस बेलाको खान्गी

blog

प्रकृति अधिकारी 

तत्कालीन राजा राजेन्द्रविक्रमको पालाको कुरा– खान्गीका रूपमा जिन्सी वा जग्गा दिने चलन भए पनि सरकारी जागिरदारले दुई वर्षसम्म बाली उठाउने अधिकारपत्र पाइरहेका थिएनन् । खान्गीभन्दा बेतन दिनुपर्छ भन्ने पक्षमा राजा सहमत थिए । कम्पु पल्टनका सैनिकलाई त्यो मन परेन । खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ, कपर्दार कुलराज पाँडेलगायत सात प्रमुख भारदारका घरमा कल्पु पल्टनका सैनिकले आगजनी गरिदिए । उनीहरूले इन्द्रचोकमा रहेको रङ्गनाथको वैभवशाली पुस्तकालय पनि जलाइदिए । यो नै नेपालको इतिहासमा राज्यका विरुद्धमा भएको पहिलो सैनिक विद्रोह थियो । रङ्गनाथले दैनिक, साप्ताहिक र मासिक रूपमा बेतन भुक्तानी गर्ने व्यवस्था गरेको तर तत्कालीन ब्रिटिस रेजिडेन्ट ब्राइन हड्सनको राजनीतिक समर्थनमा रङ्गनाथ मातहतको बटालियन बाहेकका सैनिकलाई उचाल्दा यस्तो परिस्थिति सिर्जना भएको इतिहासकारहरू भन्छन् (राणाकालीन शिक्षा) ।

सरकारी जागिरेदेखि राजासम्मलाई वार्षिक रूपमा बेतन ठेकिन्थ्यो । ठेकिएको बेतनलाई निजामती थमौती (सिटरोल)मा जनाइन्थ्यो । तलबसँगै ‘थ’ वा ‘खा’ लेख्ने चलन हुन्थ्यो । हरेक वर्ष पजनी हुन्थ्यो र त्यस दिन आगामी वर्षका लागि थमौती वा खारेजी वा बढुवा वा सरुवामा पर्थे । फारसी भाषाको ‘नेकी–बदी’ शब्द प्रयोग गरिन्थ्यो । अर्थात् राम्रो–नराम्रो । कामप्रति इमानदार हुनेको जागिर थमौतीमा पथ्र्याे । “हाकिममार्फत प्रधानमन्त्रीसमक्ष सबै कर्मचारीको जाहेरी गरिएको हुन्थ्यो”, ९५ वर्ष पुगेका नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराले राणाकालको प्रशासनिक व्यवस्था स्मरण गर्दै भन्नुभयो, “सरकारी कर्मचारीलाई सिंहदरबारमा भेला गराइन्थ्यो । त्यहाँ पजनी हुन्थ्यो । त्यहीँ दरबन्दी थमौती वा खारेज भनेर सुनाइन्थ्यो ।” 

चन्द्रशमशेरका पालामा सरकारी सेवामा प्रवेश गर्न चाहनेहरू पास जाँच अड्डाले सञ्चालन गर्ने परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने नियम बनाइयो । जति विषय उत्तीर्ण ग¥यो त्यति पासे– दुई पासे, चार पासे, छ पासे आदि । १९६४ सालमा भीमशमेरको टङ्गाल दरबारमा पजनी भइरहेको थियो । स्रेस्ता पाठशालाका विद्यार्थीलाई अड्डाखानाका कारिन्दाको पजनी देखाउन त्यो दरबारमा लगियो । विद्यार्थीले थमौती वा खारेज गर्ने विधि प्रत्यक्ष देख्न पाए । पजनीमा बढुवा, सरुवा, थमौती वा नयाँ भर्ती भएकाले प्रधानमन्त्री समक्ष दाम राखी दर्शन गर्नुपथ्र्याे (राणाकालीन शिक्षा) । 

१९१३ सालको निजामती थमौतीमा ‘सम्वत् १९१३ सालको बाली खाई १४ सालको थमौती षोसौनी हुन्या किताप’ भनी उल्लेख छ । “वर्ष दिन जागिर पाउन्याले साउनदेषि पाउँदै रहन्छ साउन लागन्या मसान्तसम्म पजनी भयो भन्या सिँगै बाली पनि पाउँछ सरुवा भयो भन्या थमौतीकाले षन्डेवाली पाउँछ” भनेर त्यस वर्षका जागिरदारदेखि राजासम्मको बेतन जनाइएको थियो । इतिहासकारहरूले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको बेतनका बारेमा उल्लेख गरेको पाइन्छ तर निजामती थमौतीका कुनै पनि ढड्डामा उनको बेतन उल्लेख गरिएको देखिँदैन । ‘श्री महाराजकुमार कुमारात्मज श्री प्राइमिनिस्टर यान्ड कम्यान्डर इन चिफ जनरल जङ्गबहादुर कुँवर राणाजी’ भनेर निजामती थमौतीमा नाम उल्लेख भएको त पाइन्छ तर बेतन जनाउनुपर्ने स्थानमा ‘थ’ अर्थात् थमौती मात्र उल्लेख गरिएको पाइन्छ । प्रधानमन्त्रीसम्मको दरबन्दीलाई थमौती लेख्ने चलन हुन्थ्यो ।

त्यो बेला नेपाली रुपियाँलाई मोहरु लेख्ने चलन थियो । १९१३ सालमा श्री ५ महाराजधिराजका हजुरका फर्मायसी खर्च महिनावारी चार सय मोहरुका दरले वर्षको चार हजार आठ सय मोहरु ठेकिएको थियो । श्री ५ बुढा महाराज अर्थात् राजेन्द्रविक्रमको फर्मायसी खर्च मासिक १५० का दरले एक हजार आठ सय मोहरु तोकिएको देखिन्छ । श्री ५ साहिँला बडामहारानीलाई मासिक पाँच सयका दरले छ हजार मोहरु, फर्मायसी पूजापाठ दान दक्षिणवापत पाँच सय मोहरु, ज्यूनारका तित्रामोल वापत ३६० मोहरु, भैलो वापत तीन सय मोहरु, माथका पैह्रन्या धागोवापत १८० रुपियाँ, पोसाकवापत दुई हजार ४०९ रुपियाँका साथै दसैँका पोसाक, फागु पोसाक, बर्खे पोसाक पनि उपलब्ध गराइन्थ्यो । जेठा जुवाइँ जगतजङ्ग र कान्छा जुवाइँ जीतजङ्गलाई दसैँ पोसाकका लागि तीन सय मोहरु र फागु पोसाकका लागि १५० मोरुको दरबन्दी जान्थ्यो । जगतजङ्गको वार्षिक १५ हजार मोरु र जीतजङ्गको ११ हजार ५५३ मोहरु बेतन अलग ठेकिएको थियो ।

‘प्राइमिनिस्टर’ जङ्गका भाइभतिजाले ठ्याहा (जातभित्रको) र मठ्याहा (फरक जातबाट जन्मिएका)का आधारमा तलब पाउँथे । जङ्गका पिता अर्थात् बालनरसिंहकी जेठी रानीबाट जन्मिएका भक्तवीरको पारिश्रमिक वार्षिक १९ हजार मोहरु थियो । बालनरसिंहकी दोस्रो रानी (नयनसिंह थापाकी छोरी)बाट जन्मिएका माहिला छोरा मिनिस्टर जनरल बमबहादुर कुँवर राणाजीको तलब ४१ हजार मोहरु थियो । जङ्गका भाइहरू कृष्णबहादुरको २१ हजार ८३९ मोहरु, रणोद्दीपसिंहको २२ हजार ८३५ मोहरु, जगतशमशेरको २० हजार ४८४ मोहरु, धीरशमशेरको २० हजार मोहरु ठेकिएको थियो । जङ्गले १९२४ साल मङ्सिरमा सार्वजनिक गरेको रोलक्रममा रहने अन्य भाइ–छोरा–भतिजाको वार्षिक बेतन आठ हजार मोहरुभन्दा माथि नै थियो । 


त्यो बेला दरबार बाहिरका सबैभन्दा बढी बेतन बुझ्ने राजगुरु हुन्थे । १९१३ सालमा गुरु पण्डितराज धर्माधिकार विजयराजको वार्षिक बेतन चार हजार पाँच सय मोहरु तोकिएको थियो । त्यसै वर्षको निजामती थमौतीमा लेखिएको थियो, “जज विष्णुप्रसाद पण्डित गुरुघराना चार अदालत विष्णु दलसमेत तैनाथ खानगी– ३६००।–” । सुब्बाले एक हजार छ सयदेखि दुई हजार छ सय मोहरुसम्म पाउँथे । डिठ्ठाले पाँच सयदेखि ८५० मोहरु बुझ्थे । अङ्ग्रेजी पढाउन ल्याइएका विदेशी मास्टरले मोहरु नभई कम्पनी रुपियाँ बुझ्थे । १९११ सालमा मास्टर हराधुम घोषले कम्पनी रुपियाँ डेढ हजार बुझ्ने गरेको निजामती थमौतीबाट थाहा हुन्छ ।

राजाका भान्से थिए– मुक्तिनाथ भट्टराई, कवलाकान्त अज्र्याल र पूर्णचन्द्र भट्टराई । वार्षिक १६१ मोहरु बेतन बुझ्थे उनीहरूले । राजाकै भान्से सुसारे सपनशोभा, विष्णुमाया, गजबदन, रत्नमाया र रत्नबदनले वार्षिक ३० मोहरु थाप्थे । त्यो बेला सिपाहीको बेतन वार्षिक ५० मोहरु हुन्थ्यो । दरबारका सुसारेले वार्षिक १२ देखि २४४ मोहरुसम्म पाउने गरेको देखिन्छ ।

प्रजातन्त्रपछिका कुरा

सरकारी कर्मचारीभन्दा विदेशी शिक्षकको तलब बढी थियो । दरबारिया बाहेकको तलब खासै वृद्धि हुनसकेको थिएन । २००६ सालमा दरबार हाईस्कुलका हेडमास्टर बोधविक्रम अधिकारीले वार्षिक तीन हजार मोहरु पाउँथे जबकि २८५ मोहरु थाप्ने शिक्षकहरू पनि थिए । प्रजातन्त्र आइसकेपछि शिक्षक–कर्मचारीको मासिक तलब न्यूनतम ३० रुपियाँ हुनुपर्ने माग उठिरहेको थियो । राज्यबाट पाउने तलबले जीविकोपार्जनका लागि पुग्दैन थियो । हिमालयशमशेरले भन्नुभयो, “तलबले बाँच्न पुग्दैन थियो । सबै जागिरेका खेती थियो । तलबले त फर्मायसी पूरा गर्नका लागि मात्र पुग्थ्यो । महाराज खुसी भएमा सरकारी जागिरेलाई थप नगद र खान्गीका रूपमा जग्गा दिने चलन पनि हुन्थ्यो ।” कप्तान बालकृष्णशमशेर जबरालाई राम्रो काम गरेवापत विराटनगरमा तीन सय बिघा जङ्गलको आयस्ता एकलौटी खान पाउने र अरू अंशियारले अंश दाबी गर्न नपाउने गरी बकस बिर्ता गरिएको थियो (मु.नं. १०४४/पेज ५८) । खुसी हुँदै प्रधानमन्त्री मोहनशमशेरले ५३ जना मास्टरलाई ६० देखि एक हजार दुई सय मोहरु थप तलब दिएका थिए (राणाकालीन शिक्षा) ।

२००८ साल जेठमा तत्कालीन स्वास्थ्य र स्थानीय स्वायत्त शासनमन्त्री यज्ञबहादुर बस्नेतले सरकारी कर्मचारीको बेतन छिमेकी मुलुकमा ठेकिएको भन्दा सयकडा ५० मात्र पाउने अवस्था भएमा धेरै गुना बढी पाउने हुन्छौँ भन्दै विज्ञप्ति जारी गरे, “...बेतन साह्रै कम पाइ आएका जङ्गीमा सिपाही, हबलदार, जमादार, निजामतीमा झाडुबढारु गर्ने टहलुवा, सिपाही, कारिन्दाहरूको प्रबन्ध त चाँडै नै यो अन्तर्कालीन सरकारले नगरेमा ठूलो मुसिबतको सामना गर्नुपर्ने अवस्था पर्ने देखेको छु । मेरो हिसाबबाट सरकारी नोकरीमा कसैले पनि महिनाको मोहरु ३०।– भन्दा कम पाउनुहुन्न । सबभन्दा तल्लो दर्जाकाले पनि महिनाको मोहरु ३०।–मा सुरु गरी क्रमैसँग बढ्दै गई मोहरु ५०।– सम्म पुग्ने हुनुपर्छ । त्यसभन्दा माथिको दर्जामा महिनाको मोहरु ५०।– मा भर्ना भई क्रमैसँग बढ्दै गई मोहरु १००।– सम्म पुग्ने हुनुपर्छ । जङ्गी निजामती अफिसर दर्जामा जाँदा पढाइ र अनुभवको ल्याकतको विचारबाट दुई अढाइ सयमा भर्ना भई महिनाको मोहरु ६००/७०० सम्म पुग्ने हुनुपर्छ । त्यसमाथि कसैलाई विशेष जवाफदेहीको केही अभिभारा उठाउनु परेमा सोअनुसार भत्ताको प्रबन्ध हुनुपर्छ । नोकरी पु¥याइ उमेर पुगी नोकरी छोड्दा भत्ताको पनि उचित प्रबन्ध हुनुपर्छ । यो विचार मेरो व्यक्तिगत हो ।”

२००८ साल साउन ८ गते नन्दी विद्यालयको वार्षिकोत्सवमा शिक्षामन्त्री नृपजङ्ग राणाले गरेको भाषणको एक अंश पनि रोचक छ, “कुनै पनि सरकारी स्कुलका शिक्षकहरूले ४०/५० रुपियाँमा आफ्नो आत्मा बेच्न पर्ने छैन । खान र लाउनका लागि उनीहरूलाई प्रशस्तै बेतन दिइनेछ ।” स्वाभाविक हो– मुलुकमा प्रजातन्त्र प्राप्त भएको अवस्थामा कर्मचारीले तलब वृद्धिको चाहना गर्नु । कर्मचारीले तलब वृद्धि नभए हड्ताल गर्ने निर्णय गरे । सरकारले कर्मचारीको निर्णयविरुद्ध कडा रूपमा चेतावनी दियो, “सरकारी कर्मचारीहरूले आफूलाई परेको पीरमर्का रीतपूर्वक सरकारमा पेस गर्नुपर्छ । त्यसो नगरी हड्ताल गर्ने, जुलुस निकाल्ने वा अरू कुनै प्रकारले सरकारी काममा बाधा पर्ने काम गर्नु गराउनु हुँदैन । गरेमा तुरुन्त खारेज हुनेछन् ।”

सरकारले तलब नबढाएर सुखै पाएन । २०१२ साल मङ्सिर १ गतेदेखि निजामती कर्मचारीको नयाँ तलब भत्ताको दरबन्दी लागू गरियो । असोजमा नेपाल सरकारले विज्ञप्ति जारी गरेर त्यसको जनाउ दिएको थियो–

“निजामती सेवाको दक्षता र उत्तरदायितामा देशको कल्याण कत्तिको निर्भर छ सबैलाई विदितै छ । सो दक्षता र उत्तरुदायिता साक्षात्कार गर्न निजामती कर्मचारीहरूको तलब भत्ता दरबन्दी उचित, निश्चित र नियमित हुनु र रहनु ज्यादै आवश्यक छ भन्ने कुरा पनि सबैले मानिएकै हो । यी सब कुरा ध्यानमा राखी २००९ साल चैत ९ गतेका दिन गठित भएको कमिसनका सिफारिसहरू र हाल भइरहेको तलब भत्ता दरबन्दीका नियमहरू उपर विचार गरी नेपाल राज्यभरका पिउन टहलुवादेखि लिएर उच्चतम पदाधिकारीहरूसम्मका सकल निजामती कर्मचारी, डाक्टर, मास्टर, इन्जिनियर आदिका तलब भत्ता दरबन्दी उचित, निश्चित र नियमित भएमा देश र जनताको उत्तरोत्तर कल्याण हुनेछ भन्ने विश्वास राखी नेपाल सरकारबाट नयाँ तलब भत्ताको दरबन्दी २०१२ साल मार्ग १ गतेदेखि लागू हुने गरी जारी गरिएको छ ।

यो नयाँ तलब भत्ताको दरबन्दीमा धेरैजसो पदको तलब भत्तामा परिस्थिति हेरी परिवर्तन र वृद्धि गरिएको छ । यो दरबन्दीबमोजिम निम्नतम मासिक तलब भत्ता गरी जम्मा रु. ३० र उच्चतम मासिक तलब भत्ता गरी जम्मा रु. ९७५ हुने भएको छ । समय र दरभाउको विचार गरी देश र जनताको कल्याणका लागि समय समयमा यो दरबन्दी संशोधन नियमित रूपले हुनेछ ।

१) यो पेस्केल २०१२ मार्ग १ गतेदेखि लागू हुनेछ ।

२) यो पेस्केल नेपाल राज्यभर लागू हुनेछ ।

३) हाल भइरहेका कर्मचारीहरूको र नयाँ भर्ना हुनेहरूको तलब भत्ता सबै यो पेस्केलबमोजिम हुनेछ ।

४) विभाग विभागका विभिन्न दर्जाका सेक्रेटरीहरू जिल्ला गढी गौँडा गोश्वाराका बडाहाकिमहरू, विभागीय डाइरेक्टरहरू बाहेक अब उप्रान्त देहायका पदहरूमा देहायका दर्जाहरू कायम हुनेछन्–

क) गजेटेड अफिसर– मीसु, सु, असु

ख) ननगजेटेड अफिसर– नासु, अनासु, खरिदार, डिठ्ठा

ग) पहिलो दर्जाको कारिन्दा (सिनियर क्लर्क)– नायब डिठ्ठा, मुखिया, विचारी

घ) दोस्रो दर्जाको कारिन्दा (जुनियर क्लर्क)– राइटर, नायब राइटर, नायब मुखिया, बहिदार, नौसिन्दा । (गोरखापत्र २०१२ असोज ३१)”


मुलुकका केही स्थानमा मोहरु र नोटबीच समानता भइसकेको थिएन । पोखराकै कुरा गर्दा त्यो बेला ९५ मोहरु दिएर एक सय रुपियाँ साट्न सकिन्थ्यो । पोखराका तत्कालीन बडाहाकिम विश्वबन्धु थापाले साहुमहाजनलाई बोलाएर समानता ल्याउन आग्रह गर्नुपरेको थियो । त्यो बेलासम्म भारतीय (कम्पनी) रुपियाँभन्दा नेपाली रुपियाँ बलियो थियो । मोरु ६० साट्दा कम्पनी रुपियाँ एक सय आउँथ्यो । २०११ सालमा आइपुग्दा कम्पनी रुपियाँ एक सयको मोरु १८० भइसकेको थियो । यसो हुनुमा त्यो बेलाको विश्लेषण यस्तो थियो– यो ज्यादा मात्रामा कुनै आतङ्क र त्रासले गर्दा हुन गएको देखिन्छ ।

मधेसमा कर्मचारीलाई कम्पनी रुपियाँमै तलब दिइन्थ्यो । २०१३ साल साउनमा अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरी मोरुमा तलब दिने निर्णय सार्वजनिक ग¥यो । सरकारले सरहद भरमा आफ्ना मुद्राको चलन चल्ती गराउने उद्देश्य राखेको थियो । मुलुकभरिमा मोरु नै लगत रहन आएकोले कर्मचारीको तलब भत्ता इत्यादि र अरू खर्च हुने कलममा समेत मोरु नै दिने, खर्च गर्ने तथा आम्दानी हुनेमा पनि मोरु नै लिने गर्नुपर्ने भनियो । त्यो निर्णयमा मोरु १२८ को भारतीय रुपियाँ एक सयका दरले सटही गरिदिने उल्लेख थियो । नोक्सानीको परवाह नगरी एउटा ठूलो कदम उठाएको ठम्याइ त्यो बेलाको सरकारको थियो (गोरखापत्र २०१३ साउन १९) । 

तलब भत्ता र पेन्सन

१९९८ साल भदौमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘प्राइमिनिस्टर’को अभिभारा उठाएको नौ वर्षको अवसरमा दिएको ‘स्पिच’–

...सबै कुरामा सधैँ दुनियाँको परिस्थिति उही रही रहँदैन । परिवर्तन नै सृष्टिको एउटा मूलतत्व हुनाले समय र चलिरहेको परिस्थिति र हैयिसतअनुसारको व्यवहार हामीहरूबाट हुनु पर्दछ । यही सिद्धान्तको अनुसरण गरी यही गएको वैशाख ३ गते हाम्रो जन्मोत्सवकको दिन जङ्गीतर्फका कर्मचारीहरूलाई २० अथवा २५ वर्ष अवच्छिन्न नोकरी गरेपछि पेन्सन पाउने गरी बक्सेको तिमीहरू सबैले सुनिसकेकै छौ । निजामतीहरूका हकमा उमेरको हद राख्ने कसो गरे ठिक पर्ला, पेन्सन दिँदा कुनै हिसाबसँग दिनुपर्ला भन्ने समेत धेरै कुराको विचार र छलफल गर्नुपर्ने भएकोले त्यसबेला यसतर्फको कुरा मुल्तवी राख्नु परेको थियो । जस्तो जङ्गी उस्तै निजामती कर्मचारीहरू पनि सर्कारको अङ्ग नै हुनाले निमकको सोझो चिताइ सर्कारको नोकरीमा आफ्नो ज्यूज्यान भिजाइ काम गरिरहेका निजामती कर्मचारीहरूलाई पनि अब उप्रान्त तपसिलको नियमबमोजिम पेन्सन दिने र पाउने गरिबक्सेको छ– 

तपसिल

१. उमेरको हदले निजामती कर्मचारीहरूलाई नोकरी छाड्न कर लाग्ने छैन । काम दिन सकुञ्जेल सर्कारको नोकरीमा रहन पाउनेछन् । उमेर, रोग वा अरू कारणले काम दिन नसक्ने भए वा ठहरिएमा नोकारीबाट अलग हुँदा दर्जाबमोजिम तोकिएको पेन्सन पाउने छन् ।

२. पेन्सन पाउनालाई २५ वर्षसम्म अवच्छिन्न नोकरी गर्नुपर्छ, नोकरीबाट अलग भएपछि दर्जाबमोजिम दरबन्दी गरिबक्सेको तलब छ खण्डको एक खण्ड जीउताभर पेन्सन पाउने छन् ।

३. दरबन्दीमा नचढेका डाक्टर, वैद्य, मास्टर, प्रोफेसर, इन्जिनियर, ओभरसियरहरूले खाइ राखेको तलबमा छ खण्डको एक खण्ड पेन्सन पाउने छन् ।

४. हाम्रो सर्कारको नोकरीमा रहेका युरोपियनहरूका हकमा भने निजहरू नोकरीमा भर्ना हुँदा सुरुमा जति तलब पाएको छ त्यसको छ खण्डको एक खण्ड पेन्सन पाउने छन् ।

५. जङ्गीले पाँच खण्डको एक खण्ड पेन्सन पाएकोमा निजामतीलाई छ खण्डको एक खण्ड गरिबक्सेको कारण– जङ्गीमा उमेरको हद पुगेपछि नोकरीबाट अलग हुनुपर्छ ।