यदुप्रसाद भट्ट
मनाङ, भदौ ११ गते । मनाङको चामे गाउँपालिका–१, तिमाङमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
वरिष्ठ हवलदारको नेतृत्वमा ५ जना रहने गरी अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख, डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भविष्यमा इलाका प्रहरी कार्यालय तिमाङमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सो पोस्ट स्थापना भएको बताउनुभयो ।
कोतोमा रहेको अस्थायी प्रहरी बिट तिमाङमा सारिएको भन्ने हल्लामा सत्य नभएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय, तिमाङको ५ रोपनी जग्गा भएपनि भवन नभएकाले सर्वसाधारणको घर भाडामा लिएर सञ्चालन गरिने भएको छ । डिएसपी पौडेलले प्रहरी बिट स्थापना हुँदैमा समाजमा भएका विकृति, विसङ्गतिहरू आजको भोलि नै समाप्त नहुने भन्दै स्थानीयको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले एक कार्यक्रमबिच सो अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्नुभएको हो ।