सिराज खान
नेपालगन्ज, भदौ ११ गते । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।
एक्कासी मुटुमा समस्या भएपछि आइतबार राति भेरी अस्पतालको आइसियू भर्ना हुनुभएका अध्यक्ष खाँको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको र समस्या झन बढ्नसक्ने सम्भावना देखेपछि थप उपचारका लागि लखनउ रिफर गरिएको भेरी अस्पतालले जनाएको छ ।
आइतबार राति १२ बजे मुटुको धड्कन एक्कासी बढेपछि अध्यक्ष खाँलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखि आइसियूमा भर्ना गरेर उपचार गरिए पनि उहाँको स्वास्थ्य समस्यामा सुधार नदेखेपछि थप उपचारका लागि मङ्गलबार लखनउस्थित इन्दु अस्पतालमा लगिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अध्यक्ष खाँको लखनउमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार समेत भइरहेको जानकारी आफन्तले दिएको बताउनुभयो ।
आइतबार मुटुको धडकन बढेपछि खाँलाई अस्पताल ल्याएपछि उहाँको श्वास–प्रश्वासमा समस्या देखिएको भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालले बताउनुभयो । गत केही वर्षदेखि मुटुरोग, प्रेसर र सुगरबाट पीडित अध्यक्ष खाँले लखनउस्थित इन्दु अस्पतालमा उपचार गराउदै आउनुभएको गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।