गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ११ गते । असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिबाना नहुने भएको छ । आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा जडान गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
विभागले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरेर स्वस्फूर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको हो । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “इस्बोस्ड नम्बर प्लेट सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिबाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएकाले तत्काललाई कुनै किसिमको दण्ड/जरिबाना नगरिने बेहोरा स्पष्ट पारिन्छ ।”
इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरूमा सेवाग्राहीको सहजताका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अङ्ग्रेजी लिपिबारे विभागले प्रस्ट पारेको छ । ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटि नदेखाइएको भन्दै विभागले त्यसलाई उचित भनेको छ । सवारीचालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका कागजातमा समेत अङ्ग्रेजी लिपि प्रयोग भएको विभागले स्मरण गराएको छ ।
नागरिकस्तरबाट विरोध भएपछि विभागले हाललाई अनिवार्य नगरिएको भन्दै विज्ञप्ति जारी गरेको हो । तर साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।