• १० पुस २०८१, बुधबार

साहित्यमा मधेस

blog

रामदयाल राकेश

 जनकपुरधाममा आयोजित त्रिदिवसीय मिथिला महोत्सवको पहिलो सत्रको विषय थियो– नेपाली साहित्यमा मिथिला एवं मधेस । नेपाल र नेपाली साहित्यसँग मिथिला एवं मधेसको सम्बन्ध चोली र दामनको सम्बन्धजस्तो सुदृढ, सुमधुर र सहृदयी सदीयौँदेखि रहँदै आएको कुरो सर्वविदित छ । साहित्यकार हृदयदेखि नै संवेदनशील हुन्छन् । नेपाली साहित्यकार तथा छिमेकी राष्ट्र भारतका साहित्यकारले मिथिलाप्रतिको मोह एवं प्रेम अभिव्यक्त गर्दै आएका छन् । भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरको मिथिलाप्रतिको मोह एवं प्रेम तलका काव्यपङ्क्तिमा यसरी अभिव्यक्त भएको पाइन्छ– 

“म जनक कपिलको पुण्य जननी 

मेरा छोराहरूको महाज्ञान 

मेरी सीताले दिइन् विश्वकी 

महिलाको आदर्श ज्ञान (अनु : राकेश) 

यस आलेखको उठान हिन्दीका प्रसिद्ध कवि दिनकरको यस काव्यपङ्क्तिबाट गरिएको सान्दर्भिक नै होला भनेर उद्धृत गरिएको हो । 

अब नेपाली साहित्यकारको मिथिला एवं मधेससम्बन्धी प्रेमका विषयवस्तुको सङ्क्षेपमा चर्चा–परिचर्चा गर्ने जमर्को गरिन्छ । सर्वप्रथम कविशिरोमणि लेखनाथ पौड्यालको ‘मधेस’ शीर्षक रचनालाई ‘मास्टरपिस’ रचना भन्न सकिन्छ । मधेसको मनमोहक र मनोरम सौन्दर्यप्रति आकर्षित कविले लामखुट्टे एवं उपियाँको उपद्रवको अनुभवलाई यस कवितामा अभिव्यक्त गर्नुभएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको घर बारा जिल्लाको एउटा गाउँमा आज पनि रहेको छ तर जीर्ण अवस्थामा । उहाँ जाडोयाममा मधेसस्थित यस ठाउँमा काठमाडौँको मीनपचासको जाडोलाई छल्नका लागि जानु हुन्थ्यो । यसै यथार्थ अनुभवको अभिव्यक्ति उहाँले यस कवितामा दिनुभएको छ । 

तत्पश्चात् राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘मिथिला’ शीर्षक कवितामा उहाँले मिथिलाको अतीतको गौरव र गरिमालाई मण्डित गरेर यसरी काव्योद्गार प्रकट गर्नुभएको छ, जुन साहै्र सराहनीय भन्न सकिन्छ– 

“यही हो मेरो मिथिला 

जन्मिन् यहीँ जानकी 

मञ्जरी जस्तै धानकी 

धरती शस्यश्यामला 

माण्डवी, कीर्ति, उर्मिला 

बहिनी बाल चञ्चला 

लावण्यमयी जानकी 

गहुँ गोरी जानकी 

अर्पित भइन् राममा ।”

यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि मधेसप्रतिको अनन्य आस्था र प्रेमलाई पनि आफ्नो एउटा कवितामा यसरी वाणी दिनुभएको छ– “तराई सुनको टुकडा हो ।” कवि दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ले मधेसको गौरव गरिमाको गान प्रस्तुत गर्नुभएको छ, निम्नलिखित काव्य पङ्क्तिमा– 

“यहीँ जनकझैँ ईश पलेको 

गुञ्जिरहेछन् यिनको उपदेश 

यो त दया धर्मको देश ।”(अनु : राकेश) 

कवि वंशी श्रेष्ठले मधेसमा अवस्थित रौतहट जिल्लाको सदरमुकाम गौरको गौरव गान गाउनुभएको छ, जुन एउटा गर्वको विषय बनेको छ । यस्तै ध्रुव जोशीले सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवाको महिमाको गौरव गान एउटा कवितामा अभिव्यक्त गर्नुभएको छ, जुन मननयोग्य छ । यस सन्दर्भमा शेखर गिरीको समसामयिक कवितामार्पmत मधेसप्रतिको मोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । उहाँ मधेसी संस्कृतिप्रति समर्पित कवि हुनुहुन्छ र मधेसी सांस्कृतिक चेतनाबाट उहाँको कविता सरोबर भएको पाइन्छ ।

डा. बानिरा गिरीको दिलमा मधेसी दलितको दर्दनाक र करुणा गाथाको अभिव्यक्ति ‘मोची दाइ’ शीर्षकमा अभिव्यक्त भएको छ । यो कविता पुनर्जागरण साप्ताहिक पत्रिकाको कुनै अङ्कमा प्रकाशित भएको पाइन्छ । त्यस्तै तराई मधेसका बासिन्दाको बिलौनाको वर्णन पाइन्छ । उहाँको अर्को कृति 

‘पर्वतको अर्को नाउँ हो पार्वती’ हो । कवि तथा कथाकार राजवको रचनामा पनि तराई मधेसका अनेक पात्र घोचपेच र घात–प्रतिघात प्रत्येक पल गरिरहन्छन् । उहाँका कविता र उपन्यासमा यस्ता पात्र कति छन् कति । हिन्दु र मुसलमान हुन् या अन्य । यस्तै एउटा मुसलमान पात्र बर्साती खाँ उहाँको कविता ‘बर्साती खाँ र सद्दाम हुसैन’ शीर्षकमा चित्रित भएको पाइन्छ । हेरौँ– 

“बाँके जिल्लाको एउटा गाउँमा जन्मेको बर्साती खाँ नेपाली हो, जसलाई सद्दाम हुसैन चिन्दैन, जान्दैन । यस्तै रेशम विरही घिमिरेको एउटा कविताको शीर्षक नै दिइएको छ ‘मङ्गली गुप्ताको पान ।’ पान मधेसको पहिचान हो किनभने यसलाई पान नगर्ने कुनै मधेसी छैन होलान् । 

“सडक किनारामा वैभवताको 

हुरी बताससँग सिङ्गौरी खेल्दै 

प्रेम पस्किएर सरलताको 

प्रेम पस्किएर तरलताको 

मङ्गली गुप्ता पान बटारिरहन्छे 

मीठा पान कि तमाखु पान ? 

मङ्गली गुप्ता सोधिरहन्छे 

मङ्गली गुप्ता हाँसिरहन्छे । 

सुप्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला आफ्नो उपन्यास ‘नरेन्द्र दाइ’मा तराई मधेसको वस्तुस्थितिलाई मुनरिया पात्रको माध्यमबाट वर्णन गर्नुहुन्छ । त्यस भेगको यथार्थ चित्रण गर्नमा उहाँ सफल हुनुहुन्छ । यसमा मैथिली लोकगीत बारहमासाको वर्णन गरेर र मधेसको मधुमासको महिमाको सचित्र वर्णन गरिएको छ । जस्तो– 

“चैत हे सखी बेली फूलल

भमरा लेल निज वास यो ।” 

त्यस्तै ‘मधेसतिर’ कथामा उहाँले स्पष्ट भन्नुभएको छ कि हाम्रो सुरक्षा दक्षिणबाट हुन्छ, उत्तरबाट होइन । मधेस धनधान्यले परिपूर्ण शस्यश्यामला भूमि सर्वसम्पन्न छ । उहाँको धारणा सकारात्मक देखिन्छ मधेसप्रति । 

नेपाली साहित्यको आख्यान विधामा सुप्रसिद्ध साहित्यकार भवानी भिक्षुको उपन्यास ‘आगत’लाई अग्रपङ्क्तिमा लिन सकिन्छ । यो उपन्यास मदन पुरस्कारबाट पुरस्कृत उपन्यास हो । यसमा सम्पूर्ण पश्चिमी मधेसको भाषा, साहित्य र संस्कृतिको साङ्गोपाङ्गो निरुपण भएको पाइन्छ । 

ध.च. गोतामेका दुईवटा उपन्यास ‘यहाँदेखि त्यहाँसम्म’ र ‘घामका पाइलाहरू’मा पनि मधेसका वासिन्दाको आनिबानी, जीवनशैली, भाषासंस्कृति र सामन्ती प्रथाको वर्णन पाइन्छ । उपन्यासकार आफ्नो उदार दृष्टिकोणको उल्लेखनीय एवं उदाहरणीय प्रक्षेपण गर्नमा पोख्त देखिन्छन् । मधेसप्रतिको धारणा प्रस्ट रूपमा निरुपित भएको पाइन्छ । उपन्यासकारको मधेसप्रतिको नियत सकारात्मक भएको पाइन्छ । 

कथाकार तथा उपन्यासकार नयनराज पाण्डेका प्रकाशित केही कथा र उपन्यासमा पनि मधेसको सकारात्मक धारणा प्रस्ट भएर वर्णित भएको पाइन्छ । उहाँको कथासङ्ग्रह ‘जियरा’ यसको उदाहरण हो । पत्रकार तथा साहित्यकार गिरिश गिरीको ‘वीरगञ्ज’ शीर्षक पुस्तकमा उहाँले यस व्यापारिक सहरको चरित्र चित्राङ्कन गर्नुभएको छ । यस पुस्तकमा लेखकको नियत मधेसप्रति सकारात्मक देखिन्छ । कृष्ण अविरलको उपन्यास ‘रातो टीका’मा भोजपुरी संस्कृतिको सम्पूर्ण रूपमा चित्रण भएको पाइन्छ । यसमा वैवाहिक केही रीतिरिवाजको आलोचनात्मक वर्णन पनि पाइन्छ । कथाकार सनत रेग्मीको कथा ‘लछमीनियाँको गौना’मा पनि त्यही वैवाहिक रीतिरिवाजका विकृति, विसङ्गतिको वर्णन पाइन्छ । 

वरिष्ठ पत्रकार तथा साहित्यकार मदमणि दीक्षितले चाहिँ मिथिलाका केही विभूतिको जीवनीमाथि प्रकाश पार्दै मैत्रेयी, गार्गी र ब्रह्मनिष्ठ याज्ञवल्क्यको जीवनी विद्वतापूर्वक र प्रशंसनीय ढङ्गबाट वर्णन गरेर एउटा राम्रो उदाहरण स्थापित गरिसक्नुभएको छ । शताब्दीपुरुष तथा वरिष्ठ संस्कृतिविज्ञ सत्यमोहन जोशीले आफ्नो नाटक ‘दैलाको बत्ती’मा मिथिलाका वरिष्ठ विद्वान् याज्ञवल्क्य र उहाँकी विदूषी पत्नी कात्यायनीको जीवनमाथि प्रकाश पारेर प्रशंसनीय काम गर्नुभएको छ । दीक्षित र जोशीले मधेस प्रदेशका विभूतिको वर्णन गरेर वन्दनीय काम गर्नुभएको छ । कथाकार मनु ब्राजाकीका केही कथाको त मुख्य विषय नै मधेसमा रहेका, बसेका वासिन्दाको जीवनशैली र संस्कृतिका विभिन्न पक्षमाथि प्रकाश पार्नु रहेको छ । 

मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित जनकपुरधामका कला, साहित्य र नाटक महोत्सवको मुख्य विषय नै सुविचारित देखिन्छ । यसको सन्देश सकारात्मक, साम्प्रदायिक सद्भाव, अनेकतामा एकताको सन्देश सम्प्रेषित गर्नमा सफल भएको देखियो । धेरैभन्दा धेरै नेपाली साहित्यकारको नियतमा खोट देखिन्न तर केही साहित्यकारको नियतमा मधेसी संस्कृतिप्रति नकारात्मक दृष्टिकोण रहेको नकार्न सकिन्न । सत्रमा सहभागी हुनुहुन्थ्यो– गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, साहित्यकार तथा पत्रकार श्यामसुन्दर शशी, पत्रकार अनिल कर्ण, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र यो पङ्क्तिकार ।