• १२ साउन २०८१, शनिबार

‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’

blog

फाइल तस्बिर

पाटन (ललितपुर), वैशाख २९ गते । योग अमूर्त सम्पदा भएको भन्दै यसलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग योगविज्ञान अधिस्नातक २०७९ विद्यार्थीद्वारा आयोजित गुरुवर्ग, संस्कृत केन्द्रीय विभाग तथा ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रममा धारणा राख्दै वक्ताहरूले योगको आशय आफूसहित अरूलाई सुखी राख्ने भएको बताएका छन् । 

मानव जातिलाई मानसिक, आत्मिक स्वास्थ्य राख्न सक्ने शक्ति योगमा भएकाले यो महत्त्वपूर्ण रहेको सहभागीको भनाइ छ । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले पछिल्लो समय योगले अन्तर्राष्ट्रिय बजार पाउन थालेको उल्लेख गर्दै यसलाई अझै परिष्कृत गरेर व्यापकता दिँदै प्रभाकारी बनाउन लाग्नुपर्ने बताउनुभयो । “योग अमूर्त सम्पदा हो, यसलाई अझ परिष्कृत गरेर अगाडि लैजानुपर्छ । हामी सानोमा पिटी भनेर सूर्यप्रणाम गर्थ्यौ, त्यतिबेला योग भन्ने चलन थिएन । मलाई संस्कृतमा पनि चासो छ । योग र संस्कृतको अन्तरसम्बन्धले मानिसलाई आध्यात्मिकतातिर आकर्षित गर्छ, जसबाट हामीलाई राम्रो ऊर्जा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । 

महानगर प्रमुख महर्जनले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा भएको योगाभ्यासको अध्ययन अध्यापनबाट शतप्रतिशत लक्ष्य प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगर प्रमुख महर्जनले प्रत्येक वडामा योगाभ्यास गर्ने कार्यविधिका लागि सामाजिक विकास समितिसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले आगामी वर्ष योग क्षेत्रका लागि बजेट व्यवस्थापन गर्नुपर्ने भन्दै सोका लागि कार्ययोजना प्रस्तुत गर्न प्रत्येक वडाध्यक्षलाई आग्रह गर्नुभयो । 

उहाँले वडाबाट आएका कार्ययोजनालाई मार्गनिर्देश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग प्रमुख डा.माधवप्रसाद उपाध्यायले आफूसहित सारा संसारको सुखको कामना गर्ने भाव योगमा मात्रै व्यक्त हुने बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक योग शिक्षाको औपचारिक अध्ययनका लागि ललितपुर महानगरपालिकाले सुरु गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । “योग शिक्षाका लागि ललितपुर महानगरको प्रयास र योगदान सराहनीय छ । यसै पनि ललितपुर रमणीय लाग्छ, ऊर्जा र चेतना भएको व्यक्ति महानगर प्रमुख हुनुहुन्छ । योग शिक्षाका लागि महानगरसँग निरन्तर साथ र सहयोग रहने विश्वास छ”, विभाग प्रमुख डा.उपाध्यायले भन्नुभयो ।

योग प्रशिक्षक डा.आकाश निलमले मानवीय आत्मीयता विना भौतिक संरचनाले मात्रै महानगर बन्न सक्दैन भन्नुहुँदै ललितपुर महानगरले लोकप्रियताबादभन्दा माथि उठेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अधिस्नातक तहको अध्यापनमा सहयोग गरेर औपचारिक योग शिक्षामा सफलता हासिल गरेको महानगरले स्नातकोत्तर तहको अध्यापन गराउन सहयोग गरोस् भन्ने कामना व्यक्त गर्नुभयो । योग प्रशिक्षक डा.निलमले संस्कृति भाषा, अध्यात्ममा नेपाल विश्वको गुरु भएको बताउँदै प्राचीनताको इतिहास कायम राख्न प्रयत्नशील रहनुपर्ने बताउनुभयो । 

वडा नम्बर २४ का अध्यक्ष दिनेशजङ्ग पाण्डेले वडा तहमा निरन्तर योग शिविर गरिरहेको बताउनुहुँदै खेलकुद र योग शिविरका लागि वडा तहमा निर्माण भएका कबर्ड हलहरू प्रभावकारी भएको बताउनुभयो । कार्यक्रम स्वागत गर्नुहुँदै अधिस्नातक २०७९ समूहकी योग प्रशिक्षार्थी महेश्वरी विष्ट रावलले सबै वडामा योग शिविरहरू सञ्चालनका लागि एक वर्षसम्म अध्ययन गर्न ललितपुर महानगरपालिकाले सहयोग गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले नगरवासीलाई स्वास्थ्य बनाउने महानगरको लक्ष्यअनुरूप आफूहरूले एक वर्ष अध्ययन गर्न सफल भएको बताउँदै अब वडा वडामा योग शिविर सञ्चालन गर्न सफल हुने बताउनुभयो । रासस