राजकुमार भट्टराई
खोटाङ, वैशाख २८ गते। अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन्। ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले चार लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन्।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा २०४१ सालदेखि कार्यालय सहयोगी काम गर्नुभएका पर्शुराम भुजेल गत चैत मसान्तदेखि उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएको छ। अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई भूतपूर्व विद्यार्थीले रकम संकलन गरेर सम्मानसहित बिदाइ गरेका हुन्।
२० वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले विद्यार्थीले रकम संकलन गरेर सम्मान गरेको भूतपूर्व विद्यार्थी उत्तम खड्काले बताउनुभयो।
२०२१ सालमा छितापोखरीमा जनसेवा प्राथमिक विद्यालयको स्थापना भएको थियो। हाल जनसेवा माध्यमिक विद्यालय भएको छ। उक्त विद्यालयमा ४० वर्ष कार्यालय सहयोगी भएर भुजेलले काम गर्नुभयो। मासिक एक सय ६५ रुपैयाँ तलबबाट जागिर सुरु गर्नुभएका भुजेलको हाल १० हजार मासिक तलब पाउनु हुन्थ्यो।
‘उमेरहुँदासम्म विद्यालयमा अस्थायीरुपमा उहाँले काम गर्नुभयो, बुढेसकालमा सरकारले खाली हात घर पठायो’, खड्काले भन्नुभयो, ‘त्यसैले उहाँको बाँकी जीवन यात्रामा केही सहज होस् भनेर विद्यालयका दुई सय ५ जना भूतपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर चार लाख ६८ हजार ७ सय ११ रुपियाँ प्रदान गरेका छौँ।’ विद्यालयका प्रधानाध्यापक कोपिला राई, व्यवस्थापन समिति अध्यक्ष बिरकाजी खड्का लगायत रकम संकलनमा सक्रिय हुनुभएको थियो।
गत चैत मसान्तबाट अनिवार्य अवकाश हुनुभएका भुजेललाई वैशाख २७ गते बिहीबार भूतपूर्व विद्यार्थीले संकलन गरेको रकमसहित विद्यालयबाट बिदाइ गरिएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, छितापोखरीका वडाध्यक्ष मिलन राई लगायतले रकम हस्तान्त्रण गरेर बिदाइ गरेका हुन्।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                