• ६ जेठ २०८१, आइतबार

विज्ञान तथा प्रविधिको क्षेत्रीय सम्मेलन सुरु

blog

निशा राई 

धरान, वैशाख २५ गते । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा विज्ञान तथा प्रविधिको क्षेत्रीय सम्मेलन सुरु भएको छ । मङ्गलबार धरान ८ स्थित गोर्खा कम्प्लेक्स क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पूर्वाञ्चलका २ सयभन्दा बढी अनुसन्धानकर्ताको २ दिने सम्मेलन सुरु भएको हो । 

विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानदाताहरूको पूर्वमा सम्मेलन पहिलो पटक भएको सम्मेलनको संयोजक डा.ललितकुमार राईले बताउनुभयो । सम्मेलनको सुरुवात प्राध्यापक विनिल अर्यालको प्रमुख अतिथिमा भएको हो । उक्त सम्मेलनमा विज्ञानसम्बन्धी कुल ४४ वटा अनुसन्धान पत्र प्रस्तुत रहेको र त्यसमध्ये फिजिकल साइन्ससम्बन्धी २४ वटा अनुसन्धान पत्र, बाइलोजिकल साइन्ससम्बन्धी १६ वटा र कम्प्युटर सूचना प्रविधिसम्बन्धी ४ वटा अनुसन्धान पत्र सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयोजक डा.राईले बताउनुभयो । 

अनुसन्धान पत्रहरू एक जनादेखि ५ जनाले संयुक्त रूपमा गरेका खोजको निष्कर्षको रूपमा प्रस्तुत गर्ने, फिजिकल साइन्सका अनुसन्धान पत्रहरूमा क्यान्सरको सेलमा गरिएको खोजदेखि सुनसरी जिल्लामा गरिएको डेङ्गु ज्वरोको स्वरूपसम्मका अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने उहाँले बताउनुभयो । 

बाइलोजिकल साइन्सका अनुसन्धान पत्रहरूमा सन्थाल सतार जातिको ’इथ्नोबोटानिकल’ सामुदायिक अभ्यासका बारेमा गरिएको सर्वेक्षणदेखि आदिवासी राई समुदायमा पाइने औषधीय वनस्पतिको प्रयोग अध्याससम्बन्धी अध्ययन समावेश रहने संयोजक डा.राईले बताउनुभयो ।

विज्ञान प्रविधिमा भएका अनुसन्धान कार्य तथा अनुसन्धानकर्तालाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यले गरिएको आयोजक समितिका उपप्राध्यापक धिरेन लिम्बूले बताउनुभयो।