• १७ भदौ २०८१, सोमबार

उच्च नैतिक आचरण पालना गर्नुस् : सेनापति शर्मा

blog

काठमाडौं, वैशाख ७ गते । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित “सैनिक आचारसंहिता कार्यक्रम–२०७९’’ समारोहलाई सम्बोधन गर्दै सेनापति शर्माले सेना समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित रहनुपर्ने बताउनुभयो ।

उहाँले सकलदर्जालाई उच्च स्तरको आचरण तथा सदाचारयुक्त कार्यसंस्कृतिको विकास गर्न समेत निर्देशन दिनुभयो ।

नेपाली सेनालाई थप व्यावसायिक तथा विवाद मुक्त राख्ने उद्देश्यले सैनिक आचाार संहिता–२०७९ जारी गरिएको छ । यसबारे जानकारी तथा प्रशिक्षण दिने उद्देश्यले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बुधबारदेखि  प्रशिक्षण सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा सेना वहालवाला तथा अवकाश प्राप्त सैनिकले गर्न हुने र नहुने कार्यबारे जानकारी गराइएको थियो । प्रशिक्षणमा सैनिक मूल्य–मान्यता बारे समेत अवगत गराईएको थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बदलिंदो सामाजिक, राजनीतिक र आर्थिक वातावरणका कारण सैनिकहरुको मूल्य मान्यता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्नसक्ने असरलाई कम गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।

सम्बोधनका क्रममा सेनापति शर्माले नकारात्मक असरलाई नियन्त्रण गरी राष्ट्रिय सुरक्षालाई थप बलियो बनाउन स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जालाई थप सजग रहन समेत निर्देशन दिनुभयो ।

उहाँले नेपाली सेनालाई राष्ट्रिय शक्तिको रुपमा सुदृढ बनाउन क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय सुरक्षासँग जोडिएका चुनौतीहरूको सामाना गर्न सधैँ तत्पर अवस्थामा रहनसमेत निर्देशन दिनुभयो ।

नीति नियमले व्यक्तिलाई सहि मार्गनिर्देशन गर्ने भए पनि सही बाटोमा हिँड्ने काम स्वयम् व्यक्ति हुने बताउँदै शर्माले सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी प्रचारप्रसार हुने गरेको प्रति सजग र विशेष सतर्क रहन मातहतका निकाय तथा सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

नेपाली सेनाले सैनिकलाई नैतिक आचरणमा राख्ने उद्देश्यले आचारसंहिता जारी गर्दै पालना र अनुगमनमा समेत कडाई गर्दै आएको छ ।