• ५ जेठ २०८१, शनिबार

दक्षिणी भेगमा पनि खानेपानीको समस्या

blog

लोकमार्गदेखि दक्षिणी भेगमा खानेपानी स्रोत रहेको हातेकल । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, वैशाख २२ गते ।
 लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको छ । मोटरजडान गरिएर खानेपानीका लागि पर्याप्तता पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयहरूले चिन्ता जाहेर गरेका हुन् ।

नेपाल खानेपानी संस्थान लहानका प्रमुख श्रीष भण्डारीका अनुसार प्रत्येक वर्ष दुई मिटर खानेपानीको लिएर तल गइरहेकाले लोकमार्गदेखि दक्षिणी भेगमा पनि यसवर्ष समस्या देखिएकै हो । खानेपानीको धारा जडानका लागि आउने निवेदनका चाप विगत वर्षहरूको तुलनामा बढी देखिएको छ । यो समस्या लहान नगरपालिकाको पुरानो १० वटा वडाहरूमा देखिन थालियो ।

१० वर्ष अगाडि यो समस्या लहान नगरपालिकाको दुई वडामा मात्रै थियो । अहिले सहरी क्षेत्रको १० वटै वडामा यो समस्या देखिएको छ ।

लहान वडा नम्बर २ र ३ लोकमार्गदेखि दक्षिणमा हातेकलहरु सुक्न थालेपछि खानेपानी नुहाउन र गाइवस्तुलाई समेत खानेपानीको समस्या भएको लहान–२ का स्थानीय विजय कुमार यादवले बताउनुभयो । साथै यस वडामा उत्पादन गरिने तरकारी खेतीलाई पनि समस्या भएको उहाँको भनाइ छ ।

लहान–२ मा खानेपानीका लागि जडान गरिएका हाते कलहरू सुक्न थालेपछि एक सयभन्दा बढी घर परिवार रहेका बस्तीमा ६३ घरमा धारा जडान गरिएको वडाध्यक्ष सियाराम यादवले बताउनुभयो ।

यस वडामा समरर्सियल बोरिङग जडान र खानेपानीको धारा जडान बाहेक अर्को भरपर्दो विकल्प नभएको उहाँको भनाइ छ ।

सिराहा जिल्लाको लहान, धनगडीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाहरूमा समेत लोकमार्गदेखि दक्षिणी भेगमा देखिएको खानेपानीको समस्या चुरे क्षेत्रमा भएको अवैध तरिकाले भएको वन विनाश, गिटी बालुवा उत्खनन् प्रमुख कारण रहेको वातावरणविद् दिनेश कुमार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण कार्यक्रम ल्याएर थालिएको प्रयासलाई प्रभावकारी ढङ्गले सरोकारवालाहरूले कार्यान्वयन गरेको भए आज यो समस्या आउने थिएन ।’’