काठमाडौँ, वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको छ । नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजमा ३–२ को नतिजा निकाल्दै आइसिसी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छ । यता वेस्ट इन्डिज ‘ए’ पनि अन्तिम खेल जितेर नेपाल भ्रमण थप सुखद बनाउने लक्ष्यमा छ ।
नेपाल पहिला खेलमा चार विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेल वेस्ट इन्डिजले १० रन, तेस्रो खेल ७६ रन र चौथो खेल २८ रनले जितेको थियो ।
नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । नेपालले अन्तिम खेलमा विश्वकप खेल्ने टोलीलाई नै बढी मौका दिएको छ । नेपालले अनिलकुमार साह र सागर ढकाललाई टोलीमा राख्दै गुलसन झा र ललितनारायाण राजवंशीलाई आराम दिएको छ ।