• ९ मंसिर २०८१, आइतबार

आगलागीमा करोडौँको क्षति

blog

बरहथवा (सर्लाही), वैशाख २१ गते । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु-१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हुँदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ  । 

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा क्षतिको विवरण आँकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरुपमा खरानी भएको र चार जनाको पक्की घरमा आङ्शिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टरसमेत जलेको छ । विष्णु-१ शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहुँ तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो । तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ ।  

यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ । बासको लागी विद्यालयमा प्रबन्ध गरिएको विष्णु-१ का वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । धेरै पीडितले गएराती घर डढेकै स्थान नजिकै रात बिताएका थिए । पीडितका लागि तत्काल विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिनुभयो । पीडितको दीर्घकालिन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उहाँको भनाइ छ । रासस