• ४ जेठ २०८१, शुक्रबार

गाउँ नै आगलागीको चपेटामा, ७० घर जल्यो

blog

आगलागीपछि विष्णु गाउँपालिकास्थित बारा उद्योरण गाउँ । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख २० गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका –१, बारा उद्योरण बस्तीमा बिहीबार भएको भिषण आगलागीबाट गाउँ नै आगलागीको चपेटामा परेको छ । 

घटनास्थलमा पुग्नुभएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रारम्भिक विवरणअनुसार आगलागीबाट ७० वटा घर जलेको जानकारी दिनुभयो । “यो प्रारम्भिक विवरण हो, विस्तृत विवरण सङ्कलन भइरहेको छ” प्रमुख जिल्ला अधिकारी धमलाले भन्नुभयो, “हामी दिनभर नै जनशक्ति परिचालन र दमकलको व्यवस्थापन गरी आगलागी नियन्त्रणमा केन्द्रित भयौँ ।”

बिहीबार दिउँसोबाट सुरु भएको आगलागी साँझ अबेर मात्र नियन्त्रणमा आएको छ । घटनास्थलमा तत्काल दमकल पुग्न नसक्दा आगलागीबाट गाउँ सखाप हुन पुगेको बताइएको छ ।  

सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल बिग्रिएर मर्मतका लागि पठाइएको र हरिवन नगरपालिकाको दमकल रानिगञ्ज क्षेत्रमा भएको आगलागी नियन्त्रण गर्न पुगेकाले घटनास्थलमा ढिलोगरी दमकल पुगेको थियो । साँझ परेपछि हरिवनसहित महोत्तरीको रामगोपालपुर र सम्सीसहित जनकपुरस्थित मधेश प्रदेश प्रहरी गणबाट चार वटा दमकल घटनास्थलमा पुगेको थियो । 

स्थानीय अजितकुमार सिंहले आगलागीबाट बस्ती सखाप भएपछि बल्ल दमकल घटनास्थलमा आइपुगेको बताउनुभयो । “दमकल नभएकाले बस्ती सबै खरानी बन्यो” सिंहले भन्नुभयो, “बस्तीका अधिकांश घर जलेर सखाप भएपछि मात्र दमकल आइपुग्यो ।” 

घटनास्थल सदरमुकाम मलङ्गवादेखि १९ किलोमिटर दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमानजिक पर्छ । आगलागीपछि घरसहित घरभित्रका खाद्यान्न, कपडालगायत सामग्री खरानी भएपछि पूरै बस्तीका स्थानीय खेतमा खुला आकाशमुनी बसेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी धमलाले पीडितलाई तत्काल त्रिपाल र खानेकुराको जोहोमा लागिपरेको जानकारी दिनुभयो ।