• ४ जेठ २०८१, शुक्रबार

भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, वैशाख २० गते । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१, स्थित भेडियाहीमा बुधवार साँझ बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको हो ।

आफ्नै भतिजका छोराले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी मलकिनया देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ । मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक वृद्धाको शव पोस्टमर्टमका लागि सोही अस्पतालमा राखिएको छ । 

यसैबिच पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत रामनगर गाउँपालिका–५, बिर्ता टोलमा एम्बुलेन्स र मोटरसाइकल जुध्दा तीन जना घाइते भएका छन् । मलङ्गवाबाट बलरातर्फ गइरहेको ज १ झ ४११ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० ए एफ ५४६१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन् । 

दुर्घटनामा मोटरसाइकल चालक भारत सितामढीस्थित ग्राम बेलवा बस्ने ३० वर्षीय जयप्रकाश यादव, मोटरसाइकल पछाडि सवार रामनगर गाउँपालिका–४, बस्ने ४५ वर्षीय आशबिहारी यादव र बलरा नगरपालिका–८, बस्ने ४० वर्षीय जयमङ्गल यादव घाइते हुनुभएको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।