• ९ मंसिर २०८१, आइतबार

सुगम नजिकको चुरे दुर्गम छ

blog

जनार्जन खत्री 

सर्लाही, वैशाख १९ गते । तराईको सुगम जिल्ला भए पनि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ विकट बस्तीमा बसोबास गर्ने स्थानीय भने वर्षौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन् । 

भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा रहेका यहाँको चुरेपाखाका बस्तीमा बस्ने स्थानीय सडक, बिजुली, खानेपानी, स्वास्थ्य सुविधा जस्ता आधारभूत सेवाबाट वञ्चित छन् । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका दर्जनौँ बस्तीमा सडक पुगेको छैन । 

स्थानीय चुरेपाखाको कच्ची भिरालो बाटो तथा खोला किनारबाट आवतजावत गर्न बाध्य छन् । चुरे भेगका केही क्षेत्रमा हिउँदयामभर खोलाको बगरबाट गाडी चले पनि माथि डाँडामा रहेका बस्तीमा पैदल हिँडेर जानुबाहेक अन्य विकल्प छैन । लालबन्दी नगरपालिका–१५, शिरकालिन्जोरका जितबहादुर स्याङ्तानले बस्तीमा खानेपानी र सडकको समस्या रहेको गुनासो गर्नुभयो । “बस्तीसम्म आउने गतिलो सडक छैन, कुवाको पानी पिउने गरेका छौँ,” स्याङ्तानले भन्नुभयो, “जे जस्ता समस्या भए पनि विपन्नताले गर्दा बस्ती छाडेर जान पनि सकेका छैनौँ ।”

स्याङ्तानले बजारसम्म औषधी उपचार वा किनमेलका लागि जानु पर्दा एक घण्टाभन्दा बढी चुरेपाखाको गोरेटो बाटो हिँडेर गाडी चल्ने ठाउँसम्म पुग्ने गरेको बताउनुभयो । चुरे भेगका बस्तीमा अधिकांश स्थानीय बजारसम्म आउजाउ गर्नु पर्दा गाडी चल्ने स्थान चुरेफेदीसम्म पैदल हिँडेर आउने गरेका छन् । 

सामान्य अवस्थामा पैदल हिँडेर आउन अप्ठ्यारो नरहे पनि बिरामी पर्दा भने असाध्यै समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ । विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिँडेर विद्यालय पुग्ने गरेका छन् । चुरेका प्रत्येक बस्तीमा विद्यालय छैन । चुरे डाँडामा झुरुप्प बस्तीभन्दा छरिएर रहेका घर धेरै छन् । 

एउटा बस्तीबाट अर्को बस्तीमा रहेको विद्यालयसम्म पुग्न घण्टौँ लाग्ने गरेको स्थानीय बताउँछन् । ईश्वरपुर नगरपालिका–१२, पिपलदमार गाउँकी सुकरानी मोक्तानले गाउँमा कोही बिरामी पर्दा एक घण्टाभन्दा बढी झोलुङ्गोमा राखेर गाडी भएको ठाउँसम्म बोकेर ल्याउने गरिएको बताउनुभयो । 

उहाँले गाउँसम्म आउने बाटोको ट्र्याक निर्माण भए पनि यातायातका साधन सञ्चालन नभएको बताउनुभयो । “मान्छे हिँडेर आउन सक्ने ट्र्याक बाटो त छ तर गाडी चल्दैन,” मोक्तानले भन्नुभयो, “सुत्केरी वा कोही बिरामी परे झोलुङ्गोमा हालेर घारीबथानसम्म पु¥याउँछौँ ।” मोक्तानले गुइडुङसम्म बिजुली आए पनि सबै घरमा तार नपुगेको गुनासो गर्नुभयो । उहाँले बस्तीका अधिकांश घरमा तार टाँगिए पनि आफ्नो र अन्य तीन÷चार घरमा बत्ती नपुगेको दुःखेसो पोख्नुभयो । 

भौगोलिक हिसाबले विकट रहेका चुरे भेगका बस्तीमा वडा तथा नगरको सीमित बजेटले मात्रै स्थानीयको आवश्यकता र अभाव पूर्ति गर्न नसकिएको जनप्रतिनिधिको भनाइ छ । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले भौगोलिक हिसाबले निकै ठुलो रहेको आफ्नो वडामा सीमित बजेट खर्चेर चुरेका सबै बस्तीमा योजना लान नसकिने बताउनुभयो । 

वडाध्यक्ष खत्री चुरेपाखामा छरिएर रहेका बस्तीमा वडाले मात्रै बजेट खर्चेर केही नहुने बताउनुहुन्छ । “चुरेडाँडामा एक घरबाट अर्को घरसम्म बाटो पु¥याउन लाग्यौँ भने करोडौँ रुपियाँ खर्च गर्नुपर्ने अवस्था हुन्छ,” उहाँले भन्नुभयो, “बाक्लो बस्ती रहेको क्षेत्रमा खानेपानी, बिजुली पु¥याइरहेका छौँ तर छरिएर रहेका सबै घरलाई समेट्न सक्ने अवस्था नै हुँदैन ।”  कतिपयले चुरेका विकट डाँडापाखामा रहेका बस्ती अन्यत्र सार्नु नै उत्तम हुने तर्क गर्ने गरेका छन् । हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले चुरेका स्थानीयको दयनीय दैनिकी देख्दा दुःख लाग्ने गरेको बताउनुभयो । 

वडाध्यक्ष घिसिङले आफ्नो वडाभित्रै एक दिनभर हिँड्दा पनि चुरेका सबै घरमा पुग्न सक्ने अवस्था नरहेको जानकारी दिनुभयो । चुरेका सबै बस्तीमा एकै दिनमा पुगेर भ्याइँदैन, त्यस्तो ठाउँमा कसरी सबै प्रकारको विकास पु¥याउन सम्भव हुन्छ ? वडाध्यक्ष घिसिङले भन्नुभयो । 

सिन्धुलीसँग सीमा जोडिएको सर्लाहीको उत्तरी चुरे भेगका स्थानीयलाई दैनिक आवश्यक पर्ने खाद्यान्न वस्तु खरिद गर्न तथा औषधी उपचार गर्न लालबन्दी र हरिवन बजार आउनुपर्ने बाध्यता छ । चुरेपाखाको ऐलानी जग्गामा बस्ने स्थानीयको आम्दानीको स्रोत विदेशबाट परिवारका सदस्यले पठाउने रेमिट्यान्स हो । पाखो बारीमा मकै, कोदो, फापर, तोरी, बोडीलगायतका बाली उब्जिए पनि केही महिना मात्रै खान पुग्ने स्थानीयले बताएका छन् ।