• ८ जेठ २०८१, मङ्गलबार

आगलागीबाट सात घर जले

blog

सर्लाहीको धनकौल गाउँपालिकामा भएको आगलागी। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख १८ गते । सर्लाहीको धनकौल गाउँपालिका–२, मा मङ्गलबार मध्यान्ह आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन्। 

धनकौल २ का सुरेश मण्डलको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले उहाँसहित छरछिमेकी सात जनाको घर जलेर नष्ट भएको हो। आगलागीबाट सुरेश मण्डल, गणेश मण्डल, शिवचन्द्र मण्डल, शङ्कर मण्डल, रामप्रवेश मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। 

मध्यान्ह तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एक छिनमा जलेर खरानी भएका स्थानीयले बताएका छन्। आगलागी गाउँले र सुरक्षाकर्मी मिलेर मोटर तथा डोलले पानी हालेर निभाएको प्रहरीले जनाएको छ। 

आगलागी निभाउन रौतहटको गौरबाट दमकल मगाइएको थियो। प्रहरी र गाउँले भएर आगो निभाएकाले गौरदेखि मगाइएको दमकल बाटोबाटै फर्काइयो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले आगलागीबाट १५ लाख रुपियाँ भन्दा बढीको क्षति भएको जानकारी दिनुभयो। 

आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार बिचल्लीमा परेका छन्।