• ८ जेठ २०८१, मङ्गलबार

गुल्मीमा आगलागीबाट ठूलो क्षति

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १८ गते । गुल्मीमा डिभिजन वन कार्यालय गुल्मीले उच्च सतर्कता अपनाउन र आगो नियन्त्रणमा आम जनता सहभागी हुन अपिल गरेको छ । लगातार आगलागीका घटनाले जनस्तरले ठुलो क्षति बेहोर्दै आइरहेको अवस्थामा आगो नियन्त्रणमा आम जनता सहभागी हुन अपिल गरेको हाे ।

वैशाख ७ गते यता यहाँका नागरिकले घरगोठ जलेर ठुलो क्षति बेहोरेको हुँदा आगलागी नियन्त्रणसँगै आगलागी हुन नदिन सरकारी निकायदेखि स्थानीय सरकार, आम सर्वसाधारण जुट्न जरुरी रहेको निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले बताउनुभयो । उहाँले आगो लगाउने व्यक्तिको गोप्य सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको भन्दै आगलागी हुनबाट बचाउन र नियन्त्रणमा सहयोग पुर्‍याउन सञ्चार माध्यमको ठुलो भूमिका रहेको बताउनुभयो ।

वैशाख ७ गते सिस्नेहार सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई व्यक्तिलाई वैशाख १६ गते नेटा बजारबाट पक्राउ गरी अनुसन्धान भइरहेको निमित्त वन अधिकृत ठाकुरले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सोही स्थानका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसि छन् । उनीहरुलाई सङ्घीय वन ऐन, २०७६ तथा वन नियमावली २०७९ अनुसार आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

वैशाख ७ गते यता ९० वटा सामुदायिक वनमा आगलागी हुँदा दुई हजार २० हेक्टर क्षेत्रफल जलेको छ । केही दिन अघि धुर्कोट गाउँपालिका-६ को रजस्थलमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार इस्मा लगायतका विभिन्न वनजङ्गलमा आगो लगाउने व्यक्ति प्रहरीको निगरानीमा छन् । अहिलेसम्म जिल्लामा १०० भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । १०० भन्दा बढी पशुचौपाय मरेका छन् । दुई जना मानिस घाइते भइ उपचार भइरहेको छ । एक टेक्टर र दुई मोटरसाइकल, दुई मन्दिर र एक कुटानिपिसानी मिल जलेर नष्ट भएका छन् ।

सोमबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउने र उनीहरुको स्थायी बसोबासका लागि यथाशीघ्र पहल गर्ने विषयमा व्यापक छलफल भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । दमकल खरिद गर्ने विषयमा बैठकमा चर्चा चले पनि तत्काल खरिद गर्न सम्भव नभएका कारण हरेक पालिकामा आगलागी नियन्त्रणका वैकल्पिक प्रविधि खरिद गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।