• १२ साउन २०८१, शनिबार

चालिस वर्षमा चीनको चमत्कार

blog

पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनले विश्वमा फेरि नयाँ सभ्यता सिर्जना गर्दै छ । कम्युनिस्ट विचारको जगमा चीनले आफ्नो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायत थुप्रै सभ्यता विकास गर्दै लगेको छ । 

जनसङ्ख्याका आधारमा विश्वको पहिलो, क्षेत्रफलका आधारमा विश्वको चौथो, अर्थतन्त्रका आधारमा विश्वको दोस्रो नम्बरमा रहेको चीन झन्डै ५० वर्षअघि यति धेरै विकसित थिएन । अर्थशास्त्रीका अनुसार सन् १९८० सम्म चीन अत्याधिक गरिब देशमध्येमा पर्दथ्यो । त्यतिबेला चीनमा न यति धेरै ठुलो अर्थतन्त्र थियो न त कुनै विकास नै । आज ४० वर्षको अन्तरालमा चीनले यति छलाङ मार्‍यो कि ऊ विश्वकै दोस्रो बलियो अर्थतन्त्रको भएको देशमा दरिएको छ । 

विश्व बैङ्कको एक प्रतिवेदन अनुसार चीनले सन् १९८१ देखि २०१२ सम्ममा देशका करिब ८५ करोड जनतालाई गरिबीको रेखाबाट माथि उठायो । सन् १९८१ मा चीनको गरिबी दर ८८.३ प्रतिशत थियो भने सन् २०१२ सम्म आइपुग्दा केवल १०.२ प्रतिशतमा झर्न पुग्यो । सन् २०१८ सम्म आइपुग्दा त्यो दर घटेर केवल १.७ प्रतिशतमा झर्‍यो भने सन् २०२० मा आइपुग्दा गरिबी दर शूल्य प्रतिशतमा छ । 

चीन विभिन्न वस्तु उत्पादनमा विश्वकै पहिलो नम्बरमा आउँछ । विश्वको २५ प्रतिशत विद्युत् चीन एक्लैले उत्पादन गर्छ । विश्वकै सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी उत्पादन गर्नेसमेत चीन हो । दोस्रो हाइड्रोइलेक्ट्रिसिटी उत्पादन गर्ने ब्राजिलभन्दा चीनले ५० प्रतिशत बढी उत्पादन गर्छ । यस्तै विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन गर्ने देश पनि चीन नै हो, जसले विश्वको ५० प्रतिशत कोइला एक्लैले उत्पादन गर्छ ।

विश्वको ४८ प्रतिशत स्मार्ट फोनको बजारमा चीनको मात्र एकछत्र राज छ, जहाँ चीनले ७० प्रतिशत मोबाइल फोन एक्लैले उत्पादन गर्छ । विश्वमा ५० प्रतिशत स्टिल उत्पादन चीनमा हुने गर्छ । यसका साथै विश्वमा ३३ प्रतिशत कार चीनमा निर्माण हुन्छ । चीनले ५० प्रतिशत स्याउ एक्लैले उत्पादन गर्छ । विश्वको दोस्रो नम्बरमा स्याउ उत्पादनमा रहेको अमेरिकाले छ प्रतिशत मात्र उत्पादन गर्छ । विश्वमा ६० प्रतिशत सिमेन्ट चीनले उत्पादन गर्छ । विश्वमा सबैभन्दा सुन उत्पादन गर्ने देश चीन नै छ । करिब १३ प्रतिशत सुन चीनले उत्पादन गर्छ । विश्व बजारमा खपत हुने करिब १७ प्रतिशत खेलौना चीनले उत्पादन गर्छ भने अमेरिकाले दुई प्रतिशत मात्र उत्पादन गर्छ । यस्तै विश्वमा ४० प्रतिशत समुद्री जहाज चीनले एक्लैले उत्पादन गर्छ । 

चीनले जे जस्ता वस्तु उत्पादन गर्छ, ठुलो स्केलमा गर्छ । चीनले जुन वस्तु उत्पादन गर्छ, त्यस वस्तुले विश्व बजार नै ढाकिदिन्छ । चीनमा हरेक वस्तु यति धेरै मात्रामा उत्पादन गरिन्छ कि सिङ्गो विश्वले नै ऊसँग प्रतिस्पर्धा गर्न सक्दैन । कुनै पनि वस्तुको मूल्य एक सय रुपियाँ छ भने चीनले धेरै वस्तु उत्पादन गरेर त्यसको मूल्य आधाभन्दा कम मूल्यमा झारिदिन्छ र कम नाफामा पनि अत्यधिक कमाइ गर्ने गर्छ । यही कारण जब चिनियाँ कम्पनी अन्य देशमा जान्छन् तब त्यस देशको मार्केटलाई नै पूर्ण रूपमा डोमिनेट गरिदिन्छन् । 

सन् १९९५ सम्म ग्लोबल मार्केटमा चीनको केवल तीन प्रतिशत मात्र उपस्थिति थियो । अहिले चीन १२.४ प्रतिशत मार्केट सेयरका साथ विश्वकै एक नम्बर एक्पोर्टर अर्थात् निर्यात गर्नेवाला देश बनेको छ । आखिर ४० वर्षको बिचमा चीनले यति धेरै उपलब्धि कसरी हासिल ग¥यो ? यसको मुख्य कारण चीनमा भएको भौतिक पूर्वाधार विकासमा विदेशी लगानीकर्ताको मुख्य आकर्षणको केन्द्र बन्न पुगेको छ ।

चीनले आफ्नो भौतिक पूर्वाधारको विकास यसरी गर्‍यो कि त्यहाँ विश्वकै सबैभन्दा तीव्र गतिमा चल्ने यातायातका साधन छन् । तीव्र गतिमा चल्ने रेलवे सिस्टम चीनमै छन् । यहाँ विश्वकै उत्कृष्ट फ्लाइओभर, पुल, सडक तथा चौबिसै घण्टासमेत सस्तो मूल्यमा विद्युत् उपलब्ध गराइएको छ । यति मात्रै होइन, चीनले विश्वभरका लगानीकर्र्ता आकर्षित गर्न उद्योगका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिदिन्छ । यहाँ कर्मचारीको कारण हुने बन्द, हडताल बिरलै हुन्छ ।

चीनमा दक्ष व्यवसायी ८७ करोडभन्दा बढी छन् । चीनले सन् १९८० देखि नै प्राविधिक शिक्षा पद्धतिको विकास गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिएको थियो । यही प्रविधि र दक्ष जनशक्तिका कारण देशमा आठ घण्टामा गरिने काम चीनका कामदारले चार घण्टामा गरिसक्छन् । आज विश्वका हरेक कम्पनी आफ्नो उत्पादन चीनमा गर्न नै उत्सुक हुन्छन् । किनकि चीन वर्तमान अवस्थामा अमेरिकापश्चात् दोस्रो अर्थतन्त्र भएको मुलुक हो । चीनको जिडिपी सन् १९९१ मा ११ सय डलर मात्र थियो भने अहिले झन्डै १२ हजार डलर पुगिसकेको छ ।

चिनियाँ सरकारले वस्तु तथा सेवा उत्पादनमा सहजता ल्याउनका लागि हब नै बनाएको छ । तपाईंलाई कुनै पनि मोबाइल या इलेक्ट्रिकल म्यानुफ्याक्चर बनाउनु छ भने पूरै एक सहर नै इलेक्ट्रिकल कम्पोनेन्ट सबै उपलब्ध हुने गरी बनाइएको छ, अर्थात् एक हब नै बनाइएको छ । जहाँ इलेक्ट्रिकल मेटेरियलसँग सम्बन्धित हरेक सामानको कच्चा सामान पाइन्छ । अटोमोबाइल र सिप बिल्डिङका लागि छुट्टै हब बनाइएको छ । छुट्टाछुट्टै हब एक ठाउँमा बन्दा यसमा ट्रान्सपोर्टेसनको खर्च र समयको बचत हुन्छ भने अर्कोतिर वस्तुको उत्पादन पनि वृद्धि हुन्छ ।

चीनको साङ्घाई सहरलाई इकोनोमी तथा ट्रेडको सिटी मानिन्छ । बेइजिङ र सेनजेङलाई त्यहाँ इलेक्ट्रिकल म्यानुफ्याक्चरिङको हब मानिन्छ । चीनको जियाङ जिन सिटीलाई अटोमोबाइल तथा एयर स्पेस इन्डस्ट्रीको हब मानिन्छ । यता गोन्जाओ सिटीलाई विभिन्न प्रोडक्ट उत्पादनको हब मानिन्छ । यहाँ भिन्न भिन्न साना प्रोडक्टका जोन बनाइन्छ । जहाँ टुथपेस्टदेखि अटोमोबाइलका पार्ट्ससमेत उत्पादन गरिन्छ ।

चीनमा माओपछि आर्थिक क्रान्ति ल्याएको श्रेय देङ स्याओ पिङलाई जाने गर्छ । देङ स्याओ पिङले आर्थिक क्रान्ति सुरु गरेको ४२ वर्ष पूरा भएको छ । यसलाई देङले दोस्रो क्रान्ति भन्ने गर्दथे । यही आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश ग¥यो ।

आजको मितिमा चीन यस्तो देश भएको छ, जोसँग सबैभन्दा विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ खर्ब डलर रहेको छ । कुल गार्हस्थ उत्पादनको मामलामा चीन विश्वको दोस्रो ठुलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो देश हो । देङ स्याओ पिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत मात्र थियो । चीन अब केवल एक उदीयमान अर्थतन्त्र मात्र रहेन बरु १५ औँ र १६ औँ शताब्दीताका विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा बनाउनेतिर उन्मुख छ ।

चीनलाई शक्तिशाली बनाउने नेतामा माओ, देङ स्याओ पिङ र वर्तमान राष्ट्रपति सी चिनफिङको नाम आउँछ । देङ स्याओ पिङको नेतृत्वमा भएको आर्थिक क्रान्तिको ४० वर्षपछि चीन एक पटक फेरि दह्रो नेतृत्व पाएर अगाडि बढिरहेको छ । सी चिङफिङ देशको अर्थतन्त्रलाई अझ प्रभावकारी बनाएर चीनलाई विश्वको महाशक्ति बनाउने योजनामा लाग्नुभएको छ ।

सन् १९७८ देखि सन् २०१६ को बिचमा चीनको जिडिपीमा तीन हजार २३० प्रतिशतले वृद्धि भएको छ । यसबिचमा ८० करोड मानिस गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिस मध्यम वर्गमा उकासिए ।

चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्ममा चीन विदेशी व्यापारमा अगुवाका रूपमा उदायो । सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई महिनामै गर्छ । देङ स्याओ पिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक र आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए । माओका केही नीतिले सन् १९६० र ७० को दशकमा कैयौँ पटक झट्का बेहोरेपछि देङ स्याओ पिङ सचेत भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर देङ स्याओ पिङ केही सिद्धान्तलाई लचकतापूर्वक लिएर अघि बढ्ने गर्दथे । देङले आफूलाई मात्र अग्रपङ्क्तिमा राख्दैनथे, उनले पूरै आफ्नो ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अघि बढाउन केन्द्रित गर्थे । यसरी देशको अर्थतन्त्रमा भएको तीव्र कायापलटसँगै चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्र नआई सत्तामा चिनियाँ कम्युनिस्ट पार्टीको पकड मजबुत हुन पुग्यो ।

चीनमा देङ स्याओ पिङको आर्थिक उदारीकरणलाई राजनीतिक उदारीकरण पनि भनिन्छ । हुन त एउटा भनाइ छ, “जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म बिरालोको रङ कालो होस्, सेतो हुनुले अर्थ राख्दैन, त्यो राम्रो बिरालोका रूपमा कहलिन्छ ।” यही सिद्धान्तमा आधारित रहेर सी चिनफिङले चीनमा औद्योगिक विकासलाई झन् तीव्रता दिने कार्य अगाडि बढाउनुभएको छ ।

सी चिनफिङले आफ्नो कार्यकालमा सरकारी उद्योग विस्तार गर्नमा जोड दिनुभएको छ । चिनियाँ नेताले केन्द्रको बलियो नियन्त्रण रहने खालको नेतृत्व रहनेमा जोड दिए पनि स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो सामञ्जस्यता कायम राखेका छन् ।

विगतको तुलनामा सी चिनफिङले देशमा सार्वजनिक निजी साझेदारीमा बढी जोड दिनुभएको छ । त्योसँगै सन् २०१४ पछि चीनमा वैदेशिक लगानीमा झन् तीव्र वृद्धि भएको छ । सी चिनफिङले व्यापारको दायरा पूरै विश्वमै बढाउनुभएको छ । उहाँको महत्वाकाङ्क्षी योजना ‘वन बेल्ट वन रोड’ परियोजनामार्फत एसिया, युरोप र अफ्रिकालाई जोड्ने रहेको छ ।

चीन सन् २००१ मा विश्व व्यापारमा सङ्गठनमा जोडिन पुग्यो । त्यसयता विदेशी व्यापारलाई सहज बनाउन बेइजिङले आफ्ना सात हजार नियमलाई खारेज गरेको छ । त्यसो त अहिले विश्वलाई नै थिलथिलो बनाइरहेको कोरोना महामारीले नयाँ वल्र्ड अर्डर तयार पार्दै चीनलाई नै विश्वको महाशक्ति राष्ट्र बनाउने निश्चित भएको छ ।

अहिलेसम्म विश्व महाशक्ति रहेको अमेरिकालाई आफ्नो पहिलेको विरासत कायम राख्ने अवसरबाट चीनले पछाडि धकेलिदिएको छ भने उदाइरहेको चीनलाई महाशक्ति बन्न नयाँ अवसर दिएको छ । लामो समयदेखि अमेरिकी क्याम्पमा रहेका र सधैँभरि अमेरिकी गठबन्धनसँग साझेदारी बनाउँदै आएका मुलुकले आज अमेरिका होइन, चीनको मुख ताक्ने अवस्था आएको छ । यसबाट विश्व शक्ति संरचनाको पुनव्र्याख्या हुने अवस्था सिर्जना भएको छ ।  

Author

सुदर्शन मङ्गोल