• ६ पुस २०८२, आइतबार

जीवनको मूल्यबोध

blog

सन्तानको जन्म केवल एउटा जैविक घटना मात्र होइन । यो त एक परिवारको मनमस्तिष्कमा आशा, सपना र निःस्वार्थ समर्पणको बीज रोपिनु हो । छोराछोरीको पहिलो रोदनसँगै अभिभावकका आँखामा जुन आँसु टल्कन्छ, त्यो भविष्यको उज्ज्वल चित्र कोरिएको पवित्र जिम्मेवारीको प्रतिविम्ब हो । हरेक बाबुआमाले आफ्ना सन्तानको आगमनलाई ईश्वरले दिएको सबैभन्दा ठुलो वरदान ठान्छन्–आफूसँग रहेको समस्त समय, ऊर्जा र माया खर्च गर्न प्रेरित गर्ने जीवनको अमूल्य उपहार ।

जीवनको यही उज्यालो यात्रा कहिलेकाहीँ किशोरावस्था (टिनएज) का भावनात्मक चोट, क्षणिक अस्थिरता र अपरिपक्व निर्णयका कारण अकल्पनीय अन्धकारतिर मोडिन पुग्छ । प्रेम सम्बन्धको असफलता, साथीको धोका, सामाजिक दबाब वा आत्मसम्मानमा पुगेको सानो चोटले गर्दा पनि धेरै किशोर–किशोरीले आत्महत्या जस्तो अप्रिय कदम चाल्ने घटना बढ्दो छ । यो त्रासदी केवल एक जीवनको अन्त्य मात्र होइन–यो त बाबुआमाले जीवनभर गरेको त्याग, मेहनत र सम्पूर्ण आशाको जग क्षणभरमै भत्किएको डरलाग्दो दृश्य हो । यस्तो संवेदनशील सङ्कटलाई ध्यानमा राख्दै, टिनएजका सन्तानलाई जीवनको सही मूल्य, कठिनाइसँग जुध्ने सिप र भावनात्मक सन्तुलनबारे शिक्षित गर्नु अब विकल्प होइन, यो प्रत्येक परिवार र राष्ट्रको अनिवार्य कर्तव्य बनेको छ ।

जब एक शिशु संसारमा आउँछ, अभिभावकको जीवन पूर्ण रूपमा सन्तानमुखी बन्छ । उनीहरूको श्रम, चिन्ता, समय र सपना–सबै छोराछोरीको भविष्यमा केन्द्रित हुन्छ । कति अभिभावकले छोराछोरीको राम्रो भविष्यका लागि एक रुपियाँ बढी बचाउने प्रयत्नमा अथक शारीरिक परिश्रम गर्छन् । आर्थिक अभावमा आफ्नै उपचार कटौती गर्छन् तर सन्तानको शिक्षामा कुनै सम्झौता गर्दैनन् । ऋण लिएर, घर धितो राखेर, चर्को ब्याज तिर्दै भए पनि उनीहरू सन्तानलाई राम्रो वातावरण दिन चाहन्छन् । यस यात्रामा अभिभावकले आफ्नो स्वास्थ्य, व्यक्तिगत इच्छा र सपनाहरूलाई पछाडि पार्छन् । महत्वपूर्ण कुरा यो हो कि के ती सन्तानले आफ्ना बाबुआमाको असीम त्याग बुझेका छन् ? घरमा संवादको अभाव छ भने, भावनात्मक दुरी बढ्छ । त्यसमा पनि छोराछोरीलाई बाबुआमाले आफूले गरेका त्यागका बारेमा राम्ररी बुझाउन सकेनन् भने पीडाको क्षणमा गलत निर्णयका लागि आधार तयार पार्न सक्छ ।

किशोरावस्था भावनात्मक उथलपुथलको उमेर हो । यो बेलामा शरीरले तीव्र रूपमा परिवर्तनको सामना गर्छ । मन अत्यन्तै संवेदनशील हुन्छ अनि अनुभव सीमित भए पनि भावनाको वेग असीमित हुन्छ । टिनएजरका लागि पहिलो प्रेम सम्बन्ध नै जीवनको अन्तिम सत्य लाग्छ र कसै गरी त्यो ‘ब्रेक अप’ भएमा भविष्य नै समाप्त भएको महसुस गर्छन् । सामाजिक सञ्जालमा देखिने ‘काल्पनिक सुख’ सँग आफूलाई तुलना गर्दा आत्मसम्मानमा गहिरो चोट लाग्छ । ‘सबै खुसी छन्, म मात्र किन दुःखी ?’ भन्ने सोचले मनमा निराशा र बेचैनी जन्माउँछ । त्यसैले आत्महत्याको जोखिम बढाउन सक्छ । किशोर अवस्था र सीमित अनुभवले गर्दा उनीहरू तत्कालको पीडालाई मात्र ठुलो ठान्छन्, र दीर्घकालीन समाधानबारे सोच्न सक्दैनन् । उनीहरू ‘तत्कालीन भावनाको आवेग’ मा निर्णय लिन्छन्, जुन एक सेकेन्डमै जीवन समाप्त पार्ने गल्ती साबित हुन सक्छ । मनोविज्ञानले पुष्टि गर्छ, मस्तिष्कको दीर्घकालीन जोखिम मूल्याङ्कन गर्ने भाग अपरिपक्व हुने भएकाले, किशोरावस्थामा आवेगमा निर्णय लिने प्रवृत्ति बढी हुन्छ ।

जब एक किशोर–किशोरीले जीवन त्याग गर्छन्, यो अभिभावकका लागि आत्मा चिरिने क्षण हो । उनीहरूको मनमा विभिन्न प्रश्नले घर बनाउँछन्, “के हामीले गरेको सबै त्याग, निद्राको बलिदान र बर्सौंको पसिना एक क्षणको चोटका कारण अर्थहीन भइदियो ?,” “आखिर हामीले के अपराध गरेका थियौँ ?,” “किन हामीलाई त्यसबारे एक वचन भनिएन ?” आत्महत्यापछिको पीडाले अभिभावकलाई रात रातभर निद्राबिहीन मात्रै बनाउँदैन, त्यो घरलाई नै सदाका लागि सुनसान तुल्याउँछ । त्यति मात्र होइन, उनीहरू बाँकी जीवनभर मानसिक तनावमा रहन्छन् । गहन अपराधबोधमा पिल्सिन्छन् । त्यसैले, टिनएजका छोराछोरीलाई जीवनको महत्व बुझाउनु भनेको अभिभावकको भविष्यको भावनात्मक सुरक्षा गर्नु पनि हो ।

किशोर–किशोरीलाई मानसिक रूपमा बलियो बनाउन अभिभावकले उनीहरूलाई निन्दा वा हप्कीदप्की होइन, तिनलाई आफ्ना कुरा निसङ्कोच सुनाउने वातावरण दिनु पर्छ । उनीहरूका असफलता, डर र सम्बन्धका कुराहरूलाई ‘लाजको विषय’ बनाउनु हुँदैन । अल्लारे उमेरमा गल्ती गर्नु र गलत निर्णय हुनु स्वाभाविकै हो । गल्ती गरे पनि, मन बुझ्ने भाषा र सकारात्मक प्रोत्साहनले मात्रै उनीहरूको आत्मविश्वास बढ्छ । घरको संवादले मात्र नपुग्ने हुनाले, विद्यालयले पनि किशोरकिशोरीलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक जीवन सिप (लाइफ स्किल) को पनि शिक्षा दिनु अपरिहार्य छ । 

असफलतालाई सिक्ने अवसर ठान्न सिकाउने ‘असफलता सहनशीलता’, क्रोध, आवेग र तीव्र तनावलाई नियन्त्रण गर्ने भावनात्मक व्यवस्थापन तथा ‘डिप्रेसन’ लाई स्वभाव नभई उपचार आवश्यक पर्ने समस्याका रूपमा बुझाउने मानसिक स्वास्थ्य साक्षरता विद्यालय शिक्षाको अभिन्न अङ्ग बन्नु पर्छ । समाजले पनि ‘मानसिक समस्या’ लाई लुकाउनुपर्ने कमजोरी नभई सामान्य शारीरिक समस्यासरह स्वीकार गर्नु पर्छ । ‘दुखेको बेलामा बोल’ भन्नु समाजको कर्तव्य हो । परामर्श केन्द्रहरूको स्थापना र सचेतना अभियानहरूले पनि जीवनको मूल्यबारे जागरुकता फैलाउन मद्दत गर्छन् ।

किशोरकिशोरीलाई याद दिलाऔँ, “कुनै पनि तात्कालिक पीडा स्थायी हुँदैन । एउटा प्रेमको धोका, एउटा परीक्षाको असफलता, एक सामाजिक अपमान–यीमध्ये कुनै पनि चीज जीवनभन्दा ठुलो र अमूल्य छैन । जीवन भनेको सम्भावनाको अथाह फूलबारी हो, जहाँ आजका आँसुहरू भोलिका सुन्दर फूल बन्न सक्छन् । अभिभावकले सन्तानका लागि गरेको त्याग संसारको सबैभन्दा पवित्र बलिदान हो ।” अब समय आएको छ–हामीले टिनएजका सन्तानलाई जीवन बाँच्ने कला, संवेदनालाई समाल्ने शक्ति, असफलताबाट उठ्ने क्षमता र आफूलाई सर्वोपरि मूल्यवान् ठान्ने दृष्टि सिकाउनै पर्छ । आज हामीले हाम्रा किशोरावस्थालाई जीवनको महत्व बुझायौँ भने भोलि हाम्रो समाज उज्यालो, सुरक्षित र सम्भावनाले भरिपूर्ण हुने छ । जीवनको ज्योतिलाई क्षणिक आवेगमा निभ्न नदिन सबै पक्ष गम्भीर बनौँ ।