मधेश प्रदेश ब्युरो
जनकपुरधाम, पुस ६ गते । तराई मधेशमा दुई दिनदेखि बाक्लो हुस्सु र चिसो हावाका कारण चिसो ह्वात्तै बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेपछि मधेश प्रदेशका जिल्ला सदरमुकाम सुनसान भएका छन् । अत्यधिक चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, मजदुर र गरिब, विपन्न नागरिक बढी प्रभावित छन् । सडकमा सवारीसाधनको आवतजावतमा कमी आएको छ भने अस्पतालमा उपचार गराउन बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
चन्द्रपुर समाचारदाताका अनुसार रौतहट सदरमुकाम गौर, मध्यभाग गरुडा, दुर्गाभगवती, माधवनारायण, गढीमाईलगायत क्षेत्रमा चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । चिसोले काम गर्न जान नपाएको गौर–२, महादेवपट्टीका सुखाडी पासवानले बताउनुभयो । चिसोले शुव्रmबार सरकारी कार्यालयसमेत सुनसान देखिएका थिए । पर्यटन विकास कार्यालयमा शुव्रmबार एउटा पनि सेवाग्राही नआएको कार्यालय प्रमुख राजेश काफ्लेले बताउनुभयो । शुव्रmबारदेखि जाडो बढेपछि सर्वसाधारणलाई राहतका लागि चोक चोकमा दाउरा बाल्ने प्रयोजनका लागि डिभिजन वन कार्यालय रौतहटसँग दाउरा माग गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।
यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले दाउराका लागि विभिन्न पालिकाबाट माग आएकाले जिल्ला वन दाउरा आपूर्ति समितिसँग निर्णय गराएर वितरण गर्ने जानकारी दिनुभयो ।
उडान पूर्ण रूपमा ठप्प
कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार बाक्लो हुस्सुका कारण बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि हुने सबै आन्तरिक हवाई उडान आज रद्द भएका छन् ।
बाक्लो कुहिरोका कारण भिजिबिलिटी पावर (दृश्यता) अत्यन्तै कम हुँदा उडान अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो । नागरिक उडान प्राधिकरण सिमराका ट्राफिक एयर कन्ट्रोलर सङ्गम श्रेष्ठका अनुसार शनिबार बिहानदेखि विमानस्थल क्षेत्रमा दृश्यता करिब एक हजार मिटरमा सीमित रहेको छ ।
उडान सुरक्षाका लागि कम्तीमा दुई हजार चार सय मिटर दृश्यता आवश्यक पर्ने भए पनि हिजोदेखि नै आवश्यक मापदण्डभन्दा कम दृश्यता कायम रहेकाले उडान रद्द गर्नु परेको उहाँले बताउनुभयो ।
सामान्य अवस्थामा सिमराबाट काठमाडौँका लागि दैनिक पाँचदेखि २५ वटासम्म साना जहाजमार्फत उडान हुने गर्दछ तर मौसम प्रतिकूल बनेसँगै उडान अवरुद्ध हुँदा यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने वैकल्पिक स्थलमार्ग प्रयोग गर्न बाध्य भएको कलैया उपमहानगरपालिका–२, दोहोरीका श्यामबाबुप्रसाद यादवले भन्नुभयो ।
कम्बल वितरण
कल्याणपुर समाचारदाता विनय कर्णका अनुसार सप्तरीको दुई वटा पालिकाका दुई सय अशक्तलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिकाका ५० जना र खडक नगरपालिकाका १५० जना गरी दुई सय जना अशक्तलाई कम्बल वितरण गरिएको हो । सुरुङ्गा र खडक नगरपालिकाको सहयोगमा सप्तरी अपाङ्ग सङ्घले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुव्रmबार कम्बल वितरण गरेको संस्थाका अध्यक्ष वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले सुरुङ्गामा ५० तथा खडकमा १५० जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसो छल्न राहतस्वरूप कम्बल प्रदान बताउनुभयो ।