• ६ पुस २०८२, आइतबार

पक्की पुल शिलान्यास

blog

मकवानपुर समाचारदाता

मकवानपुर, पुस ६ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाको पोलदम्कीखोलामा पक्की पुल शिलान्यास गरिएको छ । पक्की पुलको बागमती प्रदेशकी पूर्वमन्त्री कुमारी मोक्तानले एक कार्यव्रmमबिच शिलान्यास गर्नुभएको हो । 

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, मकवानपुरमार्फत तीन करोड रुपियाँभन्दा बढीको लागतमा पोलदम्की पुल निर्माण हुन लागेको हो । 

पूर्वाधार विकास कार्यालय, मकवानपुरका प्रमुख सुजन भण्डारीले एउटा मात्र स्पान रहने उक्त पुलको लम्बाइ २५ मिटर र चौडाइ फुटपाथसहित ८.४० मिटरको हुने जानकारी दिनुभयो । पुल २०८४ असार ८ सम्ममा सम्पन्न गर्ने गरी गत असार ९ गते निर्माण कम्पनी एसके धवलागिरि निर्माण सेवा, काठमाडौँसँग निर्माण सम्झौता भएको हो ।

पूर्वाधार विकास कार्यालय, मकवानपुरका प्रमुख भण्डारीका अनुसार मूल्य अभिवृद्धि कर, पिएस र कन्टिन्जेन्सीसहित तीन करोड छ लाख ६५ हजार ६४५ रुपियाँ निर्माण लागत रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि हेटौँडा–काठमाडौँ सडक र भीमफेदी गाउँपालिका–३ बिचको सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

पुल निर्माणसँगै भीमफेदी गाउँपालिकाको लेक पान्द्राङ, पारिपाखा सिमलटार, चिलाउने, पोलदम्कीलगायतका क्षेत्रमा वर्षायाममा आवागमनमा समस्या बेहोर्दै आएका नागरिक उक्त समस्याबाट मुक्त हुने भएका छन् । वडा नं. ३ का अध्यक्ष प्रीतिलाल लामाले पुल अभावमा वर्षायाममा स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको भन्दै लामो समयको प्रयासपछि पुल निर्माणको योजना अगाडि बढेको जानकारी दिनुभयो । पुल शिलान्यास कार्यव्रmममा मकवानपुर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी भीमफेदीका संयोजक बद्री स्याङतानलगायतको उपस्थिति थियो ।