• १६ भदौ २०८१, आइतबार

‘कहिल्यै नझुक्ने योद्धा’

blog

काठमाडौँ, जेठ ८ गते । मिसन पत्रकारितामार्फत प्रेस स्वतन्त्रता, लोकतन्त्र, नागरिक अधिकारका लागि पाँच दशक लड्नुभएका गोपाल थपलिया यति बेला सक्रिय पत्रकारितामा हुनुहुन्न । तथापि समसामयिक विषयवस्तुमा सामाजिक सञ्जालमा चोटिला प्रश्न राख्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध औँला उठाउँदै आउनुभएको छ । 

कविता र गीत लेखनमा सक्रिय थपलिया पत्रकारले प्रश्न सोध्ने सामथ्र्य गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको लडाइँमा पुलिसका चुटाइले थिलथिलो भएको शरीरमाथि रोगले च्यापेपछि यति बेला उपचारमा समेत रहनुभएका थपलियाको जोश र जाँगरचाहिँ अझै उस्तै उर्वर छ । पत्रकार थपलिया यति बेला जीवनको कथा लेख्नमा व्यस्त हुनुहुन्छ । आफ्नै भोगाइका कथा । आफ्नै अनुभव र अनुभूतिका कथा । थपलियाको जीवनकथा ‘कहिल्यै नझुक्ने योद्धा’ भर्खरै प्रकाशन भएको छ ।

लेखक तथा पत्रकार ज्योतिलाल वनले वर्ष लगाएर पत्रकार थपलियाको जीवनकथा तयार पार्नुभएको छ । पुस्तकमा पत्रकार थपलियाको वंश इतिहासदेखि दोलखामा वापमन्थी आन्दोलन, सङ्घर्ष, विद्यार्थी तथा शिक्षक आन्दोलन, पत्रकारिताको थालनी र मिसन पत्रकारिता जस्ता विषय समेटिएको छ । पत्रकार थपलियाको जीवनयात्राको भोगाइ सँगसँगै दोलखाको कम्युनिस्ट आन्दोलन, विद्यार्थी र शिक्षक सङ्घर्ष, मिसन पत्रकारिताका उतारचढावका तमाम विषयका इतिहासलाई कोट्याउने, प्रस्ट्याउने प्रयास कृतिमा गरिएको छ । पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको सो कृतिको सम्पादक विवश वस्तीले गर्नुभएको छ ।