• १२ साउन २०८१, शनिबार

फिल्मको रचनात्मक सहर

blog

काठमाडौँ, जेठ ८ गते । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले राजधानीमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गर्नुभएको हो । 

महानगरले चलचित्रसँग सम्बन्धित संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको थियो । युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उच्च रहेको र फिल्म जस्तो सफ्टपावरको क्षेत्रलाई समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख डङ्गोलले सरोकारवालाको ज्ञान र सिपलाई महानगरले उपयोग गर्ने र त्यस्ता ज्ञान सिपलाई अन्तर्राष्ट्रिय समूहसम्म लगिने बताउनुभयो ।

महानगरले यस्तो संवाद मासिक रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । युनेस्कोले २०८० सालको कात्तिकमा काठमाडौँ सहरलाई फिल्मको रचनात्मक सहरका रूपमा सूचीकृत गरेको थियो । काठमाडौँसहित संसारका ५५ सहर क्रिएटिभ सिटिज नेटवर्कमा समावेश छन् । युनेस्कोले सात वटा रचनात्मक क्षेत्र अन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको थियो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र सङ्गीत समावेश छन् ।