• १२ साउन २०८१, शनिबार

विश्व नापतौल दिवस मनाइयो

blog

नेपाल गुणस्तर तथा नापतौल विभाग । फाइल तस्बिर

काठमाडौँ, जेठ ७ गते । ‘भोलिको दिगोपनका लागि आज मापन गर्छौ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो ।

फ्रान्सको पेरिसमा सन् १९७५ मा संसारभरि एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले सुरु भएको मिटर सम्मेलनलाई आधार मानेर विश्वभरसहित नेपालमा समेत विश्व नापतौल दिवस मनाउन थालिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीभट्टले औद्योगिक रूपमा विकासशील नेपालको औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय नापतौलका एकाइ प्रयोग गर्दा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज हुने हुँदा यसको महत्त्व अझ बढिरहेको बताउनुभयो ।

नेपाल नापतौलका अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न रहेर निरन्तर रूपमा नापतौलका आधुनिक प्रणालीको विकास गरी नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत देशभरिका उद्योग, कलकारखाना, व्यवसाय तथा प्रयोगशालालाई सेवा दिइरहेको उहाँको भनाइ छ । विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपालमा नापतौलको महत्त्व व्यापक बढेर गएको उल्लेख गर्नुभयो । उहाँले औषधिमा नापतौल गडबड भएमा बिरामीको ज्यान जान सक्ने उदाहरण प्रस्तुत गर्दै ऐन, नियमको पालना गरी नापतौलको प्रयोग गर्न आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गर्नुभयो । 

विभागका नापतौल महाशाखा प्रमुख एवम् वरिष्ठ निरीक्षक मौनता मानन्धरले मानव जीवनमा नापतौलको ठुलो महत्त्व रहेको जनाउँदै यसलाई साँघुरो घेराबाट हेर्न नमिल्ने बताउनुभयो । नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउनका लागि नापतौलको महत्त्व बढेर गएको उहाँको भनाइ थियो । नापतौलमा विश्वभर एकरूपता कायम होस् भन्ने उद्देश्यले सन् १८७५ मा फ्रान्सको पेरिसमा सम्पन्न मिटर सम्मेलनमा अवधारणा ल्याइएको थियो । सुरुको समयमा उक्त सम्मेलनमा १७ देशले भाग लिए पनि हाल एक सयभन्दा बढी संस्था उक्त संस्थामा आबद्ध भइसकेका छन् । 

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल कार्यालयबाट इजाजत लिएर मात्र नापतौलको प्रयोग गर्न आम व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले सुरुमा जयस्थिति मल्ल र राम शाहको पालामा मानापाथीको चलन चले पनि वि.सं.२०२५ मा स्ट्यान्डर्ड नापतौल ऐन निर्माण भई जारी भएको उल्लेख गर्नुभयो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ढुङ्गा प्रयोग गरेर नापतौल भइरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा देशभरका सबै स्थानीय तहमा नापतौल निरीक्षक राखेर अगाडि बढ्न सके नापतौलमा उपभोक्ता नठगिने बताउनुभयो । विभागसहित आज देशभरका ११ वटा कार्यालयमा विभिन्न कार्यक्रम गरी विश्व नापतौल दिवस मनाइएको छ । रासस