काठमाडौँ, चैत ६ गते । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार शुक्रबार राति र शनिबारसम्म मधेस प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा हावाहुरी चल्ने बताएको छ ।
हावाहुरीका कारण कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।
हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थलसँगै देशभरका धेरै विमानस्थलका उडान प्रभावित भएका छन् । हवाई उडान र अवतरणमा समस्या हुँदा उडान प्रभावित भएका हुन् ।
अहिले काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा हावाहुरी चलिरहेको छ। हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको भन्दै विभागले विपद्को समयमा जोखिमयुक्त यात्रा नगर्न अनुरोध गरेको छ ।
विपद्को असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको हो ।
विभागका प्रवक्ता विभूति पोखरेलले तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।
“अहिले उपत्यकासँगै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन/चट्याङसहित हल्का पानी परिरहेको छ । यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ”, प्रवक्ता पोखरेलले भन्नुभयो, “मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा हावाहुरी (करिब ५०/६० किमी/घण्टा) चल्ने सम्भावना रहेको छ । यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहनसक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आवश्यक छ ।”
प्रवक्ता पोखरेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।