• १२ साउन २०८१, शनिबार

इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा

blog

इरानका राष्ट्रपति दिबंगत इब्राहिम रायसी । फाइल तस्विर

तेहरान, जेठ ७ गते । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । 

उहाँले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताउनुभयो । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालनुभएको एक नेताले बताउनुभयो । 

आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । 

यसैबिच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गर्नुभएको छ । समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहनुभएको थियो । 

इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो । 

देशको इस्लामिक रिभोलुसनरी गार्र्डससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि मंगलबार ताब्रिजमा गरिने जानकारी दिएको छ । रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उहाँको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बिचमा रहेको डिज्मार जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदैगर्दा खराब मौसमका कारण उहाँ सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । रासस