काठमाडौँ, चैत २२ गते ।स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ ।
आइतबार र संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबाही गर्न नसकेको उहाँको भनाइ छ ।
उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजेपनि दलका प्रमुख नेताको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैनथ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारुकता साथ आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्यो ।”
उहाँले संसद्मा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताउनुभयो ।