काठमाडौँ, चैत २२ गते । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उहाँले संविधान र कानुनको पालना गर्दै सबै सांसदको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताउनुभयो । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘संविधान, कानुन राम्रोसँग हेरेको छु । त्यसलाई पालना गरेर सबै माननीय ज्यूलाई सम्मान हुने र सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुन्छ ।’
नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानुनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने प्रष्ट पार्नुभयो ।
अर्याल आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध सभामुख निर्वाचित हुनुभएको हो ।