गोविन्द शर्मा
बाँके, चैत २२ गते । नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका वडा ३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल बनेपछि यात्रुहरुले बर्षौदेखि भोग्दैआएको सास्ती अन्त्य भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले पेडारी नालामा लक्ष्यअनुसार निर्धारित समयमै पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो । प्रमुख भण्डारीले भन्नुभयो, ‘आयोजनाको निरन्तरको अनुगमन र निर्माण ब्यवसायीको सक्रियतामा निर्धारित समयभन्दा पहिले नै पुल निर्माण सम्पन्न भएको छ ।’
पक्की पुल निर्माण भएपछि अहिले सवारी साधनहरु नयाँ पुलबाट सञ्चालन भइरहेका छन् । पुल निर्माण भए पनि पुलको दुबैतर्फ ५०–५० मिटर गरी १०० मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको छ । केही दिनमा सम्पन्न हुने आयोजनाका पदाधिकारीले जनाएका छन् ।
नारायणम निर्माण सेवासँग २०८३ बैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा ठेक्का लिएको भए पनि तोकिएको समय अगावै काम सम्पन्न हुने देखिएको छ । खजुरामा एक हजार ८०० मिटर सडक कालोपत्रेको काम आठ बर्षसम्म पनि पूरा हुन नसकेको अवस्थामा पेडारी नाला पुलको काम भने निर्माण सुरु भएको ६ महिनाभित्रै सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो ।
खजुरामा चार लेन सडक भए पनि बर्षौ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो बर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षा याममा पटक पटक आवागमन प्रभावित हुनेगरेको थियो । नयाँ पुल निर्माण भएपछि सो समस्या हल भएको छ । नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ ।