• ३१ वैशाख २०८१, सोमबार

कठुधारमा आगलागी, लाखौँको क्षति

blog

गौशाला नपा २ स्थित कठुधारमा लागेको आगो निभाउने प्रयास गर्दै स्थानीय, सुरक्षाकर्मी तथा वारुणयन्त्र । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, वैशाख १६ गते । महोत्तरीको गौशाला नगरपालिका २ स्थित कठुधारको पश्चिमी टोलमा आगलागी हुँदा घर र परालको कुन्यु (टाल) खरानी भएको छ । आगलागीबाट लाखौँ मूल्यको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । 

आइतबार अपराह्न प्रचण्ड गर्मीका साथै हावा हुरी चलेको बेला आगो लागेको स्थानीयले जनाएका छन् । गौशालास्थित इलाका प्रहरीका निरीक्षक मनोज यादवका अनुसार आगलागीबाट स्थानीय सद्दाम धुनियाको एक तले कच्ची घर जलदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहना र महत्त्वपूर्ण कागजपत्रसहित करिब ९ लाख मूल्य बराबरको धनमाल खरानी भएको छ । 

त्यस्तै धुनियाका भाइ मन्सुर नदाफको टिनको छानो भएको घर र छिमेकी कयुम नदाफको १० कठ्ठाको परालको थुप्रो सहित ७० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको जानकारी पाउनासाथ गौशालास्थित इलाका प्रहरी कार्यालयबाट र सशस्त्र प्रहरी बल रामनगरबाट खटेको ३६ जना सुरक्षाकर्मी तथा स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । 

अत्यधिक गर्मी र पश्चिमा हावाको बेगले आगो दन्कदै गएपछि बर्दिबास, गौशाला र रामगोपालपुरबाट घटनास्थल पुगेको वारुणयन्त्रको सहयोगले ३ घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । स्थानीय सद्दाम धुनियाको चुल्होमा बिहानीको खाना पकाउन बालेको पतकरको आगोलाई पश्चिमा हावाले उडाएर गाई वस्तुलाई खुवाउन राखिएको गहुँको भुसमा सल्केपछि आगलागी सुरु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

समयमै प्रहरी र वारुणयन्त्र पुगेकाले अर्को मटिहानी घट्ना टरेको स्थानीयले जनाएका छन् ।