• ३१ वैशाख २०८१, सोमबार

सर्लाहीमा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधी खुवाइने

blog

बरहथवा (सर्लाही), वैशाख १६ गते । राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधी खुवाउने कार्यक्रम सुरु भएको छ । जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधी खुवाउने अभियान सुरु गरेका हुन् । विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधी खुवाउन सुरु गरेको जनाएका छन् ।

स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधी सेवन गरेर अभियानको सुरुवात गरिएको छ । बागमती नगरपालिकामा पनि औषधी खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिनुभयो । नगरकी कार्यबाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियानको सुरुवात गर्नुभएको थियो । सुरुमा उहाँ आफैँले औषधी खाएर सुरु गर्नुभएको हो ।

योसँगै विद्यालयमा रहेका छात्रछात्रालाई औषधी खुवाउन सुरु गरिएको छ । बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधी खुवाउने लक्ष्य लिएको जनाएको छ । यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको छ । अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाईले रोगमुक्त बनाउन सहयोग पुर्‍याइ दिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले आग्रह गर्नुभयो । अभियानमार्फत् जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधी खुवाइने डा झाले जानकारी दिनुभयो । यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन् ।

उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधी खुवाउनेछन् । भने, घर–घरमै पुगेर पनि औषधी खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिनुभयो ।

हात्तीपाईले रोगविरुद्धको औषधी गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उहाँको भनाइ छ । अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधी सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । औषधी सेवनको क्रममा जिल्लामा हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईलेविरुद्धको औषधी खुवाइएको थियोे ।

सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाईले रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु लामो समयदेखि सङ्क्रमित भई उपचार गराइरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ सङ्क्रमित नगन्य मात्रामा फेला पर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । हात्तीपाईले रोग सङ्क्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो सङ्क्रमण फैलिने गर्दछ ।

जनचेतना तथा औषधी उपचारका कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा न्यून मात्रामा सङ्क्रमित फेला परेपछि अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । रासस