• १३ साउन २०८१, आइतबार

ताप्लेजुङमा दूधको मूल्यवृद्धि

blog

फुङ्लिङ बजारको एक डेरीमा गाउँबाट दूध आपूर्ति गरिँदै । तस्बिर -चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ७ गते । ताप्लेजुङमा दूधको मूल्य वृद्धि भएको छ । हाल कारोबार हुँदै आएको दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँले वृद्धि गरिएको हो । ताप्लेजुङ डेरी (दुग्ध) व्यवसायी सङ्घका अनुसार दूधको मूल्यमा २० रुपियाँले वृद्धि गरी प्रतिलिटर ८० रुपियाँ पु¥याइएको छ । सदरमुकाम फुङ्लिङ बजारमा सोमबारदेखि नै वृद्धि गरिएको मूल्यअनुसार दूधको कारोबार सुरु भएको छ । फुङ्लिङ बजारमा यसअघि प्रतिलिटर ६० रुपियाँमा कारोबार हुँदै आएको थियो ।

ताप्लेजुङ डेरी व्यवसायी सङ्घ, जिल्ला तदर्थ समितिका संयोजक कृष्णकुमार बस्नेतका अनुसार हालसम्म दूध उत्पादक तथा व्यवसायीले अत्यन्तै न्यून फाइदा राखेर प्रतिलिटर ६० रुपियाँमा दूधको कारोबार गर्दै आएका थिए । कुनै समय घाटासमेत बेहोर्नुपर्ने अवस्था रहेकाले मूल्य वृद्धि गर्नु बाध्यता भएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार दूध उत्पादकले प्रतिलिटर १० रुपियाँ र व्यवसायीले १० लिने योजनासहित दूधको मूल्य वृद्धि गरिएको हो ।

जिल्लामा दूधको मूल्य वृद्धि गरे पनि सरकारले निर्धारण गरेको राष्ट्रिय मूल्य दरभन्दा कम भएको समितिका संयोजक बस्नेतले बताउनुभयो । पछिल्लो पटक सरकारले दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ तोकेको छ । सरकारले तोकेअनुसार नै जिल्लामा पनि दूधको मूल्यवृद्धि गर्नुपर्ने धेरै उत्पादक तथा व्यवसायीको जोड थियो । थोरै भए पनि उपभोक्तालाई समेत राहत होस् भन्ने उद्देश्यले २० रुपियाँ मात्र वृद्धि गरिएको सङ्घले जनाएको छ ।

सदरमुकाम फुङ्लिङ बजारमा हाल आधा दर्जनजति दूध डेरी सञ्चालनमा रहेका छन् । उपभोक्ताको मागअनुसार फुङ्लिङ बजारमा दुग्धजन्य वस्तु उपलब्ध हुनसकेको छैन । हाल दैनिक करिब दुई हजार लिटर दूधको कारोबार हुने गरेको छ भने यहाँ तीन हजार लिटरजति दूधको माग रहेको डेरी व्यवसायी सङ्घले जनाएको छ । 

हाल दूधबाहेक दही, पनिरजस्ता दुग्धजन्य वस्तुको माग उपभोक्ताबाट भएमा उपलब्ध गराउने अवस्था नरहेको सङ्घका संयोजक बस्नेतको भनाइ छ । यस्तै घिउ पनि पाँचथर लगायतबाट आपूर्ति गरी फुङ्लिङ बजारमा बिक्री गर्ने गरिएको छ । खरिद मूल्य र ढुवानी गरी घिउ प्रतिकिलोग्राम छ सय ७० रुपियाँमा यहाँ आइपुग्ने र व्यवसायीले सात सय रुपियाँले बिक्री गर्दै आएका पनि उहाँले जानकारी दिनुभयो । 

यता दूधको मूल्य वृद्धिसँगै फुङ्लिङ बजारमा चिया तथा कफीको मूल्य पनि वृद्धि गरिएको छ । दूध चिया प्रतिकप (गिलास) २० रुपियाँमा बिक्री गरिँदै आएकोमा २५ पु¥याइएको छ भने घोटेको कफी प्रतिकप ६० रुपियाँ पु¥याइएको छ । दूधको मूल्य बढेपछि चिया तथा कफीको मूल्यवृद्धि गर्न बाध्य हुनुपरेको व्यवसायीले बताएका छन् ।